ठाउँ खाली गराउन राष्ट्र बैङ्कले लगायो एक र दुई रुपैयाँका सिक्का बिक्री गर्न बाध्यात्मक व्यवस्था (कसको पालो कहिले)

हरेक बैङ्कले एक रुपैयाँ दरका ६ लाख र दुई रुपैयाँ दरका १२ लाख रुपैयाँका सिक्का बेच्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले एक रुपैयाँ र दुई रुपैयाँ दरका सिक्का पर्याप्त मात्रामा बिक्री गर्न वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको छ ।

बिहीबार मुद्रा व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै एक रुपैयाँ दरका न्यूनतम ८ ड्रम (जम्मा ६ लाख रुपैयाँ) र दुई रुपैयाँ दरका न्यूनतम १० ड्रम (जम्मा १२ लाख रुपैयाँ) सुन्धारास्थित टक्सार महाशाखाले बैङ्कहरुलाई उपलब्ध गराउने र बैङ्कहरुले काठमाडौं उपत्यकाभित्रका आफ्ना शाखाहरुमार्फत सहजरुपले सर्वसाधारणलाई सिक्का बिक्री गर्ने व्यवस्था मिलाउने भनेको छ ।

हरेक बैङ्कले केन्द्रीय÷कर्पोरेट कार्यालयले तोकिएको अनुपातमा टक्सार विभागबाट सिक्का लिई उपत्यकाभित्रका शखाहरुमार्फत सिक्का बिक्री राष्ट्र बैङ्कले निर्देशन दिएको हो । राष्ट्र बैङ्कले २८ ओटै वाणिज्य बैङ्कहरुलाई आफूले सिक्का लिने मितिसमेत तोकेर जानकारी गराएको हो ।

यसअनुसार नेपाल बैङ्कले चैत ३ गते टक्सार विभागबाट सिक्का लिनेछ भने मेगा बैङ्कको पालो वैशाख १६ गते परेको छ । खासगरी भूकम्पपछिको पुनर्निर्माणका क्रममा धरहराको पुनर्निर्माणको काम सुरु भएकाले त्यसका लागि सहयोग गर्न भन्दै केन्द्रीय बैङ्कले सिक्का बिक्री गर्न भनको हो ।

टक्सार विभाग धरहरासँगै छ । भूकम्पले टक्सार भएको क्षेत्र पनि भत्किएको थियो । तर, धरहरासँग सो क्षेत्र पनि पुनर्निर्माणको काममा लाग्नुपर्ने भएकाले टक्सार खाली गराउने योजनाअनुसार सिक्का बिक्री गर्न बाध्यात्मक व्यवस्था गरिएको हो ।