धनकुटामा सुन्तला उत्पादनमा कमी

रोगकीराको सङ्क्रमण तथा फल लाग्ने समयमा खडेरी र असिना परेकाले पनि सुन्तला उत्पादनमा कमी आएको हो ।

जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी आउने देखिएको छ । रोग कीराको सङ्क्रमण, जलवायु परिवर्तन एवम् बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुट्रलाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो ।

मूल्य बढ्ने आशामा किसानले नयाँ फूल फुल्ने समयसम्म बोटमा फल राखिरहने हुँदा पनि उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले बताए । फल लाग्ने समयमा खडेरी र असिना परेकाले पनि सुन्तला उत्पादनमा कमी आएको हो । जिल्लाको सुन्तला उत्पादन पकेट क्षेत्रमा समस्या विकराल बन्दै गएको भन्दै रोग नियन्त्रणका लागि सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले बताए । जिल्ला कृषि विकास कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा चार हजार ४०४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

उत्पादन घटेसँगै स्थानीय बजारमा ७० रुपैयाँ प्रतिकिलोमा पाइने सुन्तलाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । जिल्लाबाट गत वर्ष १५ करोड रुपैयाँ बराबरको सुन्तला अन्य जिल्लामा बिक्री गरिएको कार्यालयले जनाएको छ । सहिद भूमि र चौबीसे गाउँपालिका, धनकुटा, पाख्रिबास, महलक्ष्मी नगरपालिका, छथर जोरपाटी र साँगुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रुपमा सुन्तलाको खेती गरिँदैआएको छ । सातओटै स्थानीय तहमा कृषि सडक विस्तार भएसँगै उत्पादित सुन्तला सहज रुपमा बजारसम्म पुग्न सकेको छ ।