यातायात व्यवस्था कार्यालय, गण्डकीका अनुसार पोखरामा झन्डै ६ हजार ट्याक्सी दर्ता छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ ।
पाेखरा । पोखराको महेन्द्रपुलबाट लेकसाइड, नयाँ बजारबाट एयरपोर्ट, कहिले दमौली त कहिले बागलुङसम्म स्टेरिङ समाएर आठ वर्षदेखि कुदिरहेकी विष्णु कुँवर पोखरामै एक्ली ट्याक्सी चालकका रुपमा चिनिँदै आएकी छन् ।
चालक भन्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेसामा आकर्षित हुँदै गएका छन् । त्यही आकर्षणमा कुँवरले ट्याक्सीसँग साइनो गाँसिन् ।
यातायात व्यवस्था कार्यालय, गण्डकीका अनुसार पोखरामा झन्डै ६ हजार ट्याक्सी दर्ता छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ ।
सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोकी खेलाडीसमेत हुन् । मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गरेकी छन् । सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गरेकी कुँवरले सुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गरेर आफ्नो दैनिकी चलाउँथिन् । त्यही सडकबाट कुँवर सयौँ ट्याक्सी ओहोरदोहोर गरिरहेको देख्थिन् । सबै ट्याक्सी चलाउने उनले पुरुष मात्रै देखेकी थिइन् ।
‘प्राइभेट कार हाँक्नेमा महिला देखिरहेकी थिएँ, तर ट्याक्सी चलाउने महिला किन नभएका होलान् भनेर मनमा कुरा खेल्थ्यो । ट्याक्सी चलाउन महिलाले नसक्ने त होइनन् नि,’ उनले भनिन्, ‘आफ्नै अठोटले गाडी चलाउन सिकेँ ।’
उनले २०६७ वैशाखमा ट्याक्सी चलाउन सिकिन् र लगत्तै अनुमतिपत्र पनि लिइन् । श्रीमानलाई आफूले ट्याक्सी चलाउन चाहेको पनि बताइन् । तर, उनले स्वीकृति दिएनन् । ‘श्रीमानले त नचलाउ भन्नुभएको थियो तर, पछि माइतमा बुबाले चलाउ भनेर हौसला दिनुभयो अनि चलाउन थालें,’ उनले भनिन् ।
उनले मासिक २८ हजार किस्ता बुझाउने गरी बैङ्कबाट १३ लाख रूपैयाँमा नयाँ मारुती अल्टो गाडी निकालिन् । त्यसपछि २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उनी देशका कुनाकन्दरासम्म पुगेकी छन् ।
ट्याक्सी चलाउँदै जाँदा उनले धेरै रातका बाटो छिचोलेकी छन् । कहिले बाटोमा टायर पन्चर हुँदा आफैं कस्सिने गर्छिन्, कहिले पाटपुर्जा फेर्न मिस्त्री कै काम गर्छिन् ।
‘म मेरो काममा पूर्ण सन्तुष्ट छु, मासिक ६० हजारसम्म कमाइ हुने गर्छ, यसले मेरो परिवार खुसी छ,’ उनले भनिन्, ‘श्रीमान् पनि पर्यटक गाडी चलाउनुहुन्छ, दुवै जनाको आम्दानीले घर मज्जाले चलेको छ ।’
उनका दुई छोराछोरी निजी विद्यालयमा पढ्दै छन् । श्रीमान् पनि उनलाई पूर्ण सहयोग गर्दै आएका छन् ।
पेसप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देखिन् ।
‘यात्रुले छोडेको पैसासहितको झोला मैले तत्काल प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाएँ,’ उनले गर्विलो महसुस गर्दै भनिन् । कुँवर भन्छिन्, ‘मैले आठ वर्षदेखि ट्याक्सी चलाउँदै आएकी छु, तर यो बीचमा अर्की महिला चालक थपिएनन्, यसले मलाई दुख लागिरहेको छ ।’
‘सरकारले थुप्रै पैसा महिला सशक्तीकरणका नाममा खर्च गरेको छ । सिलाइ कटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ । बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालिम र सस्तो ब्याजमा ऋण उपलब्ध गराउने हो भने यस क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो’, उनले भनिन् । -रासस