सरकारले क्लिङ्कर आयातमा देखिएको समस्या समाधान गर्न नसक्दा सिमेन्ट उद्योगको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको थियो । यसबाट क्लिङ्कर आयात गर्ने र नेपालमा सिमेन्ट बनाएर बिक्री गर्दै आएका ३० भन्दा बढी उद्योगको लगानी जोखिममा परेको थियो ।
क्लिङ्कर आयातमा देखिएको समस्या समाधान भएको छ । यसअघि वीरगन्जमा रहेका उद्योगले भारतको रक्सौलबाटै क्लिङ्कर आयात गर्न पाएका थिएनन् । स्थानीयको अवरोधका कारण उनीहरुले क्लिङ्कर आयात गर्न नपाएका हुन् । तर अहिले समस्या समाधान भएको छ ।
अहिले रक्सौलबाट १ सय ५० किमि दूरीको नारायणपुर रेलवे स्टेसनमा ल्याइएको क्लिङ्कर त्यहाँबाट नेपाल आयात गर्न थालिएको छ । आफै क्लिङ्कर उत्पादन गरेर सिमेन्ट बनाउनेसँग विराटनगर तथा भैरहवाबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउने उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने हुँदा लगानी जोखिममा परेको थियो ।
सरकारले क्लिङ्कर आयातमा देखिएको समस्या समाधान गर्न नसक्दा सिमेन्ट उद्योगको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको थियो । यसबाट क्लिङ्कर आयात गर्ने र नेपालमा सिमेन्ट बनाएर बिक्री गर्दै आएका ३० भन्दा बढी उद्योगको लगानी जोखिममा पर्दै गएको व्यवसायीहरुले बताएका छन् ।
हाल १४ उद्योगले आफै क्लिङ्कर उत्पादन गर्छन् भने क्लिङ्कर उद्योगहरू अझै थपिँदै छन् । नेपालका ४५ ओटा सिमेन्ट उद्योगमध्ये ३१ ओटा उद्योगले भारतबाट क्लिङ्कर आयात गरी सिमेन्ट बनाएर बिक्री गर्छन् । ती ३१ ओटा उद्योगको २५ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको व्यवसायीको भनाइ छ ।
३१ ओटा उद्योगले कुल सिमेन्ट बजारको ४० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको कसमस सिमेन्ट इन्डस्ट्रिजका प्रबन्ध निर्देशक प्रबलजङ्ग पाण्डले जानकारी दिए । उनका अनुसार अहिले खासगरी क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्ने कम्पनी समस्यामा परेका हुन् ।
वीरगन्जमा भएका उद्योगले वीरगन्जबाटै क्लिङ्कर ल्याउन नपाउनेबित्तिकै उनीहरुको लगानी जोखिममा पर्ने व्यवसायीहरु बताउँछन् । वीरगन्जमा भएका १५ भन्दा बढी सिमेन्ट उद्योग सबैभन्दा बढी मारमा परेको सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘वीरगन्जमा भएका सिमेन्ट उद्योगले भैरहवा तथा विराटनगरबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउँदै आएका छन्,’ उनले भने, ‘ती उद्योगले उत्पादन गरेको सिमेन्टको मूल्य अन्य उद्योगको तुलनामा महँगो हुने नै भयो ।’
केही समयदेखि भारतीय पक्षले वीरगन्जको रक्सौलबाट नेपालतर्फ क्लिङ्कर ल्याउन नदिएकाले त्यसको प्रत्यक्ष मर्कामा वीरगन्जका सिमेन्ट उद्योग परेका थिए । ‘अन्य ठाउँका उद्योग पनि समस्यामै छन्,’ उनले भने, ‘अन्य क्षेत्रमा खोलिएका उद्योगले विराटनगर, धनगढी तथा भैरहवाबाट क्लिङ्कर आयात गरेर सिमेन्ट बनाउँदा मूल्य पनि बढेको हो ।’
नेपालको भैरहवा, नवलपरासी, दाङ, उदयपुर, जनकपुर, मोरङ, वीरगन्जमा सबैभन्दा बढी सिमेन्ट उद्योग छन् । ती ठाउँमा खोलिएका सबै सिमेन्ट उद्योगको आफ्नै क्लिङ्कर उद्योग नभएकाले ठूलो समस्या देखिएको हो ।