सात करोडको लगानीमा दरबारमार्ग प्रहरी वृत्त निर्माण

विसं २०७० सालमा बोलपत्र आह्वान गरी निर्माण सुरु गरिएको छ तले भवन तीन वर्षमा सम्पन्न गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवासको समेत व्यवस्था छ ।

सात करोड एक लाख १७ हजार रुपैयाँको लागतमा दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तको भवन निर्माण गरिएको छ ।

विसं २०७० सालमा बोलपत्र आह्वान गरी निर्माण सुरु गरिएको छ तले भवन तीन वर्षमा सम्पन्न गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवासको समेत व्यवस्था छ ।

कार्यालय तथा ब्यारेक भवन आज शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नयाँ भवन निर्माणबाट प्रहरीलाई गुणस्तरीय सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘मुलुकको विकासमा शान्ति सुरक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ, सुरक्षा योजनाअनुसार उपलब्ध स्रोत र साधन अधिकतम प्रयोग गरी सुरक्षा प्रदान गर्नुपर्छ’, उनले भने ।

इमान्दारीपूर्वक काम नगर्ने प्रहरीलाई कारबाही गरिनेमा जोड दिँदै उनले भने, ‘माथिल्लो एकाइले तल्लो एकाइले गरेका कामलाई बेलाबेलामा अनुगमन गर्नुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाडौँको मुटु दरबारमार्गमा ढिलै भए पनि राम्रो प्रहरी भवन निर्माण भएको उल्लेख गर्दै कार्यक्षेत्र राम्रो भएको खण्डमा काम गर्न इच्छाशक्ति बढेर जान्छ भने ।

रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले अभावका बावजुद पनि उपत्यका प्रहरीले इमान्दारीसाथ आफ्नो कार्यसम्पादन गरेको बताए ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकले भूकम्पले परिसरलगायत काठमाडौँका धेरै भवन भत्किएकाले उक्त भवन निर्माणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।