नेपाल र  चीनकाे संयुक्त लगानीमा ह्वासिनले सिमेन्ट उत्पादन थाल्ने, पूर्वाधार निर्माण सुरु

उद्योगमा नेपालका व्यवसायिक घरना वैद्यज ग्रुप अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्यको १५ प्रतिशत र बाँकी ८५ प्रतिशत चिनियाँ ह्वासिन कम्पनीको लगानी रहेको छ । सिमेन्ट कारखानाको पुर्वाधारमा ह्वासिनले १५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको ह्वासिन सिमेन्ट नारायणी प्रालिले आउदो डेढ वर्षभित्र सिमेन्ट उत्पादन थाल्ने भएको छ । सिमेन्ट उत्पादनका लागि ह्वासिनले कारखाना प्लाण्टको पुर्वाधार तयारीको काम थालेको छ । गत फागुन १६ गते सघीय संसदका सभामुख कृष्णबहादुर महाराले कारखानाको शिलन्यास गरेका थिए ।

डेढ वर्षभित्र कारखाना पुर्वाधारको काम सकेर सिमेन्ट उत्पादन थाल्ने योजना रहेको लगानी बोर्डले जानकारी दिएको छ । उद्योगमा नेपालका व्यवसायिक घरना वैद्यज ग्रुप अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्यको १५ प्रतिशत र बाँकी ८५ प्रतिशत चिनियाँ ह्वासिन कम्पनीको लगानी रहेको छ । सिमेन्ट कारखानाको पुर्वाधारमा ह्वासिनले १५ अर्ब रुपैयाँ लगानी गर्ने छ । लगानी बोर्डले चीनबाट लगानी ल्याउन ह्वासिनलाई अनुमति दिइसकेको छ ।

लगानी बोर्डको शुक्रबार बसेको ३५ औं बैठकले कम्पनीको लगानी संरचना र सेयर स्वामित्वलाई स्वीकृत गरेको छ । उद्योगले २ साताअघि देखि कारखानाको पुर्वाधार बनाउन सुरु गरेको बोर्डले जानकारी दिएको छ ।

सिमेन्ट कारखाना धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ तालतीमा रहने भएको छ । १४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ पूँजी रहेको ह्वासिन दैनिक ६० हजार बोरा सिमेन्ट उत्दान गर्ने बोर्डले जानकारी दिएको छ ।

उद्योगका लागि मलेखुबाट तालतीसम्म छुट्टै सडक १० किलोमिटर निर्माणका लागि तयारीसमेत गरेको छ । ह्वासिनले उद्योगकै कच्चा पदार्थबाट विद्युत समेत उत्पादन गर्ने छ ।

चिनियाँ लगानीमा होङ्गसी शिवम सिमेन्टले उत्पादन थालिसकेको छ । उद्योगले दैनिक ६ हजार टन र केही वर्षपछि दोब्बर बढाएर १२ हजार टन पुर्याउने भएको छ ।