कमलपोखरीमा पनि भेटियो पोद्दार समूहको गोदाम

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पोद्दार समूहको कमलपोखरीस्थित गोदामबाट चोरीका लाखौं मूल्यका सामान बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।

काठमाडौं । प्रहरीले काठमाडौंको कमलपोखरीमा पोद्दार चोर समूहको अर्को गोदाम फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पोद्दार समूहको कमलपोखरीस्थित गोदामबाट चोरीका लाखौं मूल्यका सामान बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।

शुक्रबार प्रहरीले रामेछाप सुनापति गाउँपालिका घर भएका ओमराज श्रेष्ठ, भारत मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोद्दारलाई उपत्यकाभित्र समूह बनाएर चोरी गरेको भन्दै सार्वजनिक गरेको थियो ।

शनिबार प्रहरीले बरामद गरेका सामान सोही समूहको भएको परिसरका डीएसपी बोगटीले बताए । ‘सामान सोही समूहको भएको पुष्टि भइसकेको छ,’ प्रवक्ता बोगटीले भने, ‘यो समूहले धेरै ठूलो मात्रामा चोरी गरेको खुलेको छ, थप अनुसन्धान गरिरहेका छौं ।’

यसअघि उनीहरूले चोरेका सामान राख्न कोठा भाडामा लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमलपोखरी र गौरीधारमा दुई ओटा घरका फ्ल्याट भाडामा लिएर चोरीका सामान स्टोर गरिराखेको उनले बताए ।

काठमाडौंको पुरानो बानेश्वरमा उत्तमकृष्ण कर्माचार्यको घरमा ३ ओटा कोठा भाडामा लिएको प्रहरीको दाबी छ । उनीहरुले चार वर्षदेखि चोरी गर्दै आएका छन् ।

चोरीमा प्रयोग भएको बा१ज ११९२ नम्बरको ट्याक्सी, बा१४च ७२६९ नम्बरको मारुति भ्यान र बा८०प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूले चोरीका लागि प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।