प्रचण्डलाई व्यवसायीको ज्ञापन पत्र

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गएको व्यवसायीको टोलीले विप्लवका पछिल्ला घटनाबाट निजी क्षेत्र सशङ्कित हुँदै गएकाले दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ ।

काठमाडाैं । गत फागुन २४ गते नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा विप्लव समूहले गराएको बम विस्फोटबारे जानकारी गराउँदै सङ्घले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गएको व्यवसायीको टोलीले विप्लवका पछिल्ला घटनाबाट निजी क्षेत्र सशङ्कित हुँदै गएकाले दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ ।

बम विस्फोट गराइएको ८ दिन बितिसक्दासमेत दोषी सार्वजनिक नगरिएको र पीडितलाई क्षतिपूर्ति नदिएको प्रति उद्योगी व्यवसायीले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । ‘चैत १५ र १६ गते हुन गइरहेको लगानी सम्मेलनलाई नै असर पर्नेगरी विप्लव समूहका अराजक घटनाबाट उद्योगी व्यवसायी सशङ्कित बनेका छन्,’ प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।

उद्योगमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा पछिल्ला घटनाले प्रभाव पर्ने व्यवसायीको गुनासो छ ।

ज्ञापन पत्र बुझ्दै प्रचण्डले सानातिना कुरामा नअल्झिन व्यवसायीलाई आग्रह गरे । वार्ता र छलफलमार्फत नै सबै कुरा समाधान गरिने उनले बताए ।

सरकारले विप्लव समूहले अराजक गतिविधि गरेको भन्दै उक्त समूहमाथि प्रतिबन्ध लगाइसकेको छ ।