इन्जिनियरिङ कलेज मुद्दा : बिरामी छु भन्दै अख्तियारबाट निस्केका न्यौपाने एकाएक फरार

तत्कालीन आयुक्त पाठकलाई मोटो रकम खुस दिने न्यौपानेलाई पनि थुनामै राखेर कारबाही गर्ने अवस्था आएका कारण उनी त्यो कुराको सुइँको पाएर अगाडि नै भागेको अख्तियार स्रोतको भनाइ छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानकै क्रममा रहेका इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने फरार भएका छन् । सो कलेजको मुद्दा मिलाउन भन्दै न्यौपानेले अख्तियार दुरुपपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घूस दिएको खुलासा भएपछि पाठकले राजीनामा दिएका थिए ।

त्यसपछि अख्तियारले अनुसन्धान थालेको हो । अनुसन्धानकै क्रममा न्यौपाने केही दिनयता अख्तियारको सम्पर्कबाहिर छन् । गत आइतबार उनलाई अख्तियारले बयानका लागि बोलाएको थियो । त्यो दिन बयान दिएर फेरि आवश्यक परेका बेला आउने सर्तमा अख्तियारबाट निस्केका न्यौपाने फरार भएका हुन् ।

तत्कालीन आयुक्त पाठकलाई मोटो रकम खुस दिने न्यौपानेलाई पनि थुनामै राखेर कारबाही गर्ने अवस्था आएका कारण उनी त्यो कुराको सुइँको पाएर अगाडि नै भागेको अख्तियार स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘आइतबार बोलाइएको न्यौपानेको स्वास्थ्य अवस्था ठीक नभएको देखिएपछि फेरि आउने भन्दै छाडियो, त्यही मोका पारेर उनी फरार भए । उनी फरार भएको खबरपछि अख्तियार टोलीले खोजी गरेपनि फेला भने पारेको छैन ।

फरार न्यौपाने खोज्न आयोगले टोली नै परिचालन गरेको स्रोतले जानकारी दियो । न्यौपाने स्थलमार्गबाट देश छाडेको अख्तियार अधिकारीको आशङ्का छ । न्यौपानेबारे अनुसन्धान जारी रहेको भन्दै यस विषयमा केही बोल्न नमिल्ने अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।

क्यापिटल नेपालसँग कुरा गर्दै प्रवक्ता दङ्गालले भने, ‘अनुसन्धान जारी छ, अनुसन्धानमै भएका कारण यो कुरा गर्न मिलेन ।’