विराटनगर  पुगेर प्रधानमन्त्रीले भने– ट्रकका ट्रक तरकारी काठमाडौं ल्याउनुस्, नबिके विदेश पठाउँछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले कृषि उपजको उत्पादकत्व वृद्धिमा ध्यान दिनु पर्ने बताएका छन् । मोरङमा फलफूल तथा तरकारी थोक बजारको उद्घाटन् एवम् हस्तान्तरण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयलाई योगदान दिने गरी कृषि उत्पादन वृद्धि गर्नु पर्ने र त्यसका लागि सरकाले सहयोग उपलब्ध गराउने बताए । प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन वृद्धि गर्नु पर्ने बताए ।

उनले कृषिका लागि उर्वर भूमी हुँदाहुँदै पनि कृषि उपजको प्रयाप्त उत्पादन गर्न नसकेको र थोरै उत्पादन ट्रकले नबोक्ने भएकाले बजारीकरणमा समस्या भएको बताए । उनले भने, ‘चार डोका तरकारी ट्रकले ओसार्दैन, मान्छेले बोकेर काठमाडौं लैजान सकिँदैन । त्यसैले ट्रकका ट्रक तरकारी उत्पादन गर्नुस्, काठमाडौंमा बिक्छ । नबिके बिदेश पठाउछौँ ।’

प्रधानमन्त्री ओलीले ढुक्कसंग विकास निर्माणमा लाग्न आग्रह गर्दै, अब कसैले लुटपाट गर्न, तोडफोड गर्न र क्षेति पुर्याउन नपाउने बताए । उनले विप्लव समूहलाई लक्षित गर्दै भने, ‘अब तेस्ता समूहहरुलाई कारवाही गर्छौँ, जसले आतंक मच्चाउँछ, लुटपाट गर्छ उनीहरुलाई संविधान अनुसार कारवाही हुन्छ ।’

प्रधानमन्त्री ओली मोरङको कटहरी–१ मा करिब १७ करोड रुपैयाँको लागतमा निर्माण भएको फलफूल तथा तरकारी थेक बजार उद्घाटन गर्न आइतबार बिहान मोरङ पुगेका हुन् ।