कुखुरापालनमा सहरीकरणको प्रभाव

नेपाल दाना अन्डा तथा कुखुरा वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डेका अनुसार डेढ वर्षदेखि पोल्ट्री व्यवसायी अन्य जिल्लामा गई पोल्ट्री व्यवसाय सुरु गर्न थालेका छन् । अहिले चितवनका पोल्ट्री व्यवसायीले दाङ, गोरखा, लमजुङ, तनहुँ, नगरकोट, रुपन्देही र चितवनकै ग्रामीण भेगमा पोल्ट्री खुल्नेक्रम बढेको व्यवसायी बताउँछन् । 

रत्ननगर । चितवनमा बढ्दै गइरहेको सहरीकरणको प्रभाव यहाँको कुखुरापालन क्षेत्रमा पनि देखिएको छ । ह्याचरी, कुखुराको फर्म तथा दाना उद्योग भएको जग्गाको मूल्य उच्चतम वृद्धि भएपछि यहाँको पोल्ट्री व्यवसायमा सहरीकरणको प्रभाव देखिएको हो ।

नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नयाँ व्यवसायीले कम लगानीबाट व्यवसाय सुरु गर्ने भएकाले सस्तो जग्गा भाडाका लागि ग्रामीण क्षेत्रलाई आफ्नो रोजाइमा पारेको बताए ।

जिल्लामा लामो समयदेखि पोल्ट्री सञ्चालन गरेकाले पोल्ट्री प्रदूषण भई कुखुरा राम्रो उत्पादन नहुने भएकाले पनि सहरभन्दा ग्रामीण क्षेत्र उपयुक्त हुने जानकारी दिए ।

जिल्लामा जनघनत्वमा भएको वृद्धि र जग्गाको मूल्यमा भइरहेको महङ्गीले अन्य जिल्लामा फर्म खुल्नेक्रम सुरु भएको उनले बताए । “व्यावसायिकरुपमा कुखुरापालन गर्न पहाडी ठाउँ नै राम्रो हुन्छ”, उनले भने, “पहिला व्यवसायी राम्रोसँग बाँच्नसके मात्र पोल्ट्री क्षेत्र आत्मनिर्भर बन्छ । त्यसका लागि उत्पादन क्षेत्र र बजार क्षेत्रको दूरी मिलाएर व्यवसाय गर्दा चौतर्फी फाइदा हुन्छ ।”

नेपाल दाना अन्डा तथा कुखुरा वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डेका अनुसार डेढ वर्षदेखि पोल्ट्री व्यवसायी अन्य जिल्लामा गई पोल्ट्री व्यवसाय सुरु गर्न थालेका छन् । अहिले चितवनका पोल्ट्री व्यवसायीले दाङ, गोरखा, लमजुङ, तनहुँ, नगरकोट, रुपन्देही र चितवनकै ग्रामीण भेगमा पोल्ट्री खुल्नेक्रम बढेको व्यवसायी बताउँछन् ।

“जिल्लाकै पोल्ट्री बन्द गरेर स्थानान्तरण गरिएको होइन”, उनले भने, “नयाँ खुल्ने र विस्तार हुने फर्म अन्य जिल्लामा खुलेका हुन् । जग्गाको भाडा सस्तो र जैविक सुरक्षाका दृष्टिकोणले अन्य जिल्ला व्यवसायीको रोजाइमा परेको हो ।” पोल्ट्री व्यवसाय सञ्चालन गर्न २५ देखि २९ डिग्री तापक्रमलाई उपयुक्त मानिन्छ । हावापानीको हिसाबले चितवनभन्दा अन्य जिल्लाको तापक्रम कम हुने भएकाले व्यवसायीले त्यस क्षेत्रमा लगानी गर्न उत्साहित देखिएका छन् ।

पछिल्लो समय बाहिरी जिल्लामा कुखुराको खपत बढी हुने भएपछि सोही क्षेत्रको बजारलाई मासु र अन्डामा आत्मनिर्भर बनाउन व्यवसायीले नयाँ उपाय निकालेका हुन् । नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले व्यवसायीले आर्थिक गुणस्तरलाई वृद्धि गर्न अन्य जिल्लामा व्यवसाय विस्तार गरेको बताए । “कुखुराका लागि आवश्यक पर्ने दाना बनाउन मकै स्थानीय बजारमा पर्याप्त र सस्तो मूल्यमा पाइन्छ”, उनले भने, “ढुवानी खर्च नलाग्ने र बाटोमा कुखुरा मर्ने जोखिम नहुने भएकाले व्यवसायीलाई उच्चतम फाइदा पुग्छ ।”

चितवनमा भइरहेको सहरीकरणले सुरक्षित ठाउँको खोजीमा व्यवसायी अन्य जिल्लामा पुगेका हुन् । नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अनुसार चितवनमा एक हजार ६०० पोल्ट्री व्यवसायी छन् । पोल्ट्रीको राजधानी चितवनमा नेपालको कुल उत्पादनको ६० प्रतिशत चल्ला उत्पादन हुने गर्दछ ।

त्यस्तै लेयर्स कुखुरा ९५ र अन्डा ५० प्रतिशत उत्पादन हुने महासङ्घको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा उत्पादन भएको कुखुरा जम्मा १५ प्रतिशतमात्र खपत हुने गरेको छ । यहाँ उत्पादन हुने कुखुराको मुख्य बजार काठमाडौँ, पोखरा र वीरगञ्ज हो । हाल जिल्लामा दुई हजारदेखि दुई लाखसम्म कुखुरा पाल्ने व्यवसायी छन् । –सुरेन कुँवर/रासस