छलफलको क्रममा करिब २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेकोप्रति सासंदहरुले चासो व्यक्त गरेका छन् । समितिका सभापति भरतकुमार शाहले तत्काल बक्यौता रकम उठाउन निर्देशन दिएका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता उठाउन संसदको सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ । समितिले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निमित्त महानिर्देशक राजन पोखरेल, विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलगायतका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
छलफलको क्रममा करिब २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेकोप्रति सासंदहरुले चासो व्यक्त गरेका छन् । समितिका सभापति भरतकुमार शाहले तत्काल बक्यौता रकम उठाउन निर्देशन दिएका छन् ।
समितिका सदस्य सूर्य पाठकले विमानस्थलभित्रका पसलहरु व्यवसायी र कर्मचारीको मिलेमतोमा सिन्डिकेट कायम गरिएकोप्रति संसदको ध्यानाकर्षण गराएका छन् । उनले वर्षौंदेखि एकै व्यक्तिले विमानस्थलभित्र पसल सञ्चालन गरिरहेको बताउँदै तत्काल नयाँ टेन्डर आह्वान गर्न अनुरोध गरेका छन् । क्यानले बनाएको नीति नियममा केही छिद्र भएकै कारण अदालतले स्टेअर्डर दिएको हुन सक्ने भन्दै त्यसतर्फ अध्ययन गर्न आग्रह गरेका छन् ।
यस्तै सांसद राजन केसीले म्याद सकिएर पनि सञ्चालन गर्दै आएका पसलहरुमा नयाँ टेन्डर जारी गर्न विमानस्थलाई आग्रह गरेका छन् । उनले विमानस्थल प्रशासन बक्यौता उठाउनतर्फ गम्भीर नभएको प्रक्रिया दिएका छन् ।
यस्तै सांसद प्रेम आलेले ग्राहकबाट चर्को मूल्य लिने अनि विमानस्थलाई भाडा तिर्न आनाकानी गर्ने पसलहरुलाई तत्काल हटाउनु पर्ने बताए ।
यसैबीच क्यानका निमित्त महानिर्देशक पोखरेलले अदालतको स्टेअर्डरका कारण पसलहरु सञ्चालन भइरहेको बताए । उनले आफूहरुले चाहेर पनि हटाउन नसक्ने भन्दै संसदले आवश्यक निर्देशन दिन अनुरोध गरेका छन् ।
यस्तै महाप्रबन्धक क्षेत्रीले विमानस्थलमा सिन्डिकेट नरहेको बताए । समितिले स्टेअर्डरमार्फत सञ्चालनमा रहेका पसल हटाएर नयाँ टेन्डर गर्न निर्देशन दिएमा सोही अनुसारको काम गर्न आफूहरु तयार रहेको जानकारी दिए । उनले विमानस्थलभित्र कति मूल्य राख्न ठिक हुन्छ भन्ने मूल्यसूची समितिले दिएमा त्यहीअनुसार गर्न तयार रहेको बताए ।
विमानस्थलले दिएको जानकारीअनुसार २०७५ पुससम्म २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७३९ रुपैयाँ बक्यौता छ । ३२ ओटा अन्तर्राष्ट्रिय उडान गर्ने तथा १८ ओटा आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनी, सञ्चालनमा नरहेका १२ आन्तरिकतर्फका तथा १८ ओटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी, १९ सरकारी संस्था, ६८ ओटा विभिन्न कम्पनी र व्यापार व्यवसाय बन्द गसरसकेका ३८ कम्पनीबाट बक्यौता उठाउनुपर्ने छ ।
सबैभन्दा बढी नेपाल एयरलाइन्सको ३४ करोड, एयर एसियाको २० करोड, हिमालय एयरलाइन्सको २१ करोड, सौर्य एयरलाइन्सको ३ करोड, सिम्रिक एयरलाइन्सको १ करोड ९ लाख, कस्मिक एयरलाइन्सको ३ करोड ३३ लाख तथा गल्फ एयरको २ करोड २२ लाख १३ हजार रुपैयाँ बक्यौता रहेको जनाएको छ ।
भन्सार कार्यालयको बक्यौता मात्रै ५४ करोडभन्दा बढी छ । भन्सार कार्यालयमा रकम उठाउनका लागि पटक पटक पत्र पठाउँदासमेत बेवास्ता गरिएको समितिलाई जानकारी दिएका छन् ।