महिला उद्यमीसंघ नेपाल कास्की , नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ र व्यापार तथा निकासी प्रवद्र्र्र्धनको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनी जन्य फेल्ट वस्तु उत्पादन सम्बन्धि तालिमको निरीक्षणमा उनले सो कुरा बताएकी हुन् ।
पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं महिला उद्यमी मीना गुरुङले आफ्नो सांसद भत्ता एवं सुविधालाइ स्वरोजगार तथा उद्यमी महिलाको सृजनशिल तालिमकोलागि खर्च गर्ने बताइन । महिला उद्यमीसंघ नेपाल कास्की , नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ र व्यापार तथा निकासी प्रवद्र्र्र्धनको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनी जन्य फेल्ट वस्तु उत्पादन सम्बन्धि तालिमको निरीक्षणमा उनले सो कुरा बताएकी हुन् । उनले वडा–वडामा उद्यमीको इकाइ कमिटि गठन गरेर आफूले पाएको रकमबाट महिला उद्यमशिलता प्रवद्र्धन गर्ने बताइन ।
उनले सवल र सक्षम जनशक्तिबाट मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै हरेक नागरिकसँग व्यवसायिक सीप हुन आवश्यक रहेको बताउनु भयो । गण्डकी प्रदेशमा सामाजिक मन्त्रालयले स्वरोजगार कार्यक्रम शुरु गरेको भन्दै आफ्नो रुचि र क्षमता अनुसारको तालिम लिएर आत्मनिर्भर हुन सहभागिहरुलाई आग्रह गरिन् । उद्यमी संघको संस्थापक अध्यक्ष समेत रहेकी गुरुङले महिला माथि हिंसानै परनिर्भरता भएकाले आर्थिक सशक्तिकरणकालागि उद्यमशिल बन्न आग्रह गरिन् ।
ऊनी जन्य पदार्थलाई रंग र साबुनको घोलमार्फत विभिन्न आकारमा ढालेर आर्कषक वस्तु तयार गरिने संघका अध्यक्ष काशी गुरुङले जानकारी दिइन् । विदेश निर्यात हुने हस्तकलाको सामाग्री भित्र पर्ने फेल्ट तथा ऊनीजन्य हस्तकलाका सामाग्रीहरु आर्कषक हुने देश भित्र र बाहिर समेत राम्रो बजार भएकाले महिला दिदीबहिनीकोलागि तालिमको आयोजना गरेको बताइन् ।
कास्की जिल्लामै पहिलो पल्ट सञ्चालित उक्त तालिममा एकसय ४२ जना महिलाको सहभागिता रहेको छ । तालिममा सहभागि अधिकांश दिदीबहिनी स्वरोजगार हुन इच्छुक देखिएको गुरुङको भनाइ छ । उनले पोखरा घुम्न आउने पर्यटकलाई समेत पोखराको चिनोको रुपमा ऊनीजन्य सामग्री प्रयोग गर्न सकिने बताइन् ।
तालिमका प्रशिक्षक पूजा कार्कीले कच्चा पर्दाथ भेडाको ऊन भएपनि नेपाली ऊन गुणस्तरीय हुन नसक्दा विदेशबाट आयातीत हुने बताइन् । ‘हामी कहाँको ऊन अलि जर्रो हुन्छ, सामान तयार गर्दा फिनिसिङ्गमा समेत समस्या देखिन्छ । केमिकलबाट ऊनी नरम बनाएपछि मात्रै बस्तु उत्पादन गर्ने मिल्छ ।’ उनले भनिन्, ‘उत्पादित सामानको बजारीकरणकालागि जोड दिने हो भने एक हजारको लगानीबाट दश–हजारको आम्दानी गर्न सकिन्छ ।’
विदेशी मुलुक इण्ल्याण्ड, स्वीजरल्याण्ड, दुवइ लगायतका मुलुकबाट कच्चा पदार्थ आयात हुने गरेको कार्कीले बताइन् । ऊनीजन्य पदार्थबाट निर्मित बस्तु बढि निर्यात हुने देशहरुमा जमर्न, डेनमार्क, जापान, अमेरिका लगायतका मुलकु छन् । निर्यातित सामानमा झोला, जुत्ता, टोपी (ह्याट), फुलको झुप्पा, चरा, झुमर लगायतका छन् । रासस