विषादीयुक्त खाद्यान्नले मानव जीवनलाई प्रत्यक्ष प्रभावित पारिरहेको अवस्थामा सामुदायिक रुपमा नै प्राङ्गारिक कृषि उपज सुरु गरेका स्थानीयलाई उक्त उत्पादनमा भइरहेको मागका साथै सहज बजारीकरणले थप उत्साहित बनाएको छ ।
कास्की अन्नपूर्ण गाउँपालिका–३ का पाउँदुर र ४ का भदौर देउरालीका स्थानीयवासीले प्राङ्गारिक तरकारी एवम् कृषि उपज उत्पादन गर्नथालेपछि उनीहरुको जीवनस्तरमा क्रमिक सुधार हुँदै गएको छ । विषादीयुक्त खाद्यान्नले मानव जीवनलाई प्रत्यक्ष प्रभावित पारिरहेको अवस्थामा सामुदायिक रुपमा नै प्राङ्गारिक कृषि उपज सुरु गरेका स्थानीयलाई उक्त उत्पादनमा भइरहेको मागका साथै सहज बजारीकरणले थप उत्साहित बनाएको छ ।
घरमा बिहान बेलुका स्वास्थ्यकर तरकारी तथा कृषि उपज खाँदा पारिवारिक स्वास्थ्य त राम्रो भएको छ नै त्यसबाट आयआर्जनलाई समेत टेवा पु¥याएको छ । यूएससी क्यानडा एसिया र लिवर्डको सहयोगमा माछापुच्छ्रे विकास सङ्घ, कास्कीले छ वर्षयता सञ्चालन गरेको समुदायको उद्यमशीलताद्वारा पर्यावरणीय कृषि प्रवर्द्धरन (पिस) परियोजनासँगै प्राङ्गारिक उत्पादन एवं स्वस्थ जीवनशैली निर्माणमा सहयोग पुगेको हो । परियोजनाले कृषिमा व्यावसायिकता तथा स्वास्थ्यकर तरकारी उत्पादनमा स्थानीय किसानलाई प्रोत्साहित गर्दै कृषि पेशातर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणलगायत कार्यमा सहयोग पु¥याएको माछापुच्छ«े विकास सङ्घका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनका अनुसार यस क्षेत्रमा परियोजना सञ्चालनयता व्यावसायिक कृषिको विकासका लागि २३ ओटा कृषि समूह तथा पञ्चासे कृषि विकास समिति तथा पञ्चधाम कृषि विकास सहकारी संस्था स्थापना भइसकेका छन् ।
परियोजना सञ्चालन भएयता कृषकको क्षमता तथा सचेतना अभिवृद्धि गर्दै प्राङ्गारिक उत्पादन वृद्धि गर्ने, बजारीकरण तथा संस्थागत विकासमा थालिएको प्रयास उपलब्धिमूलक भएको स्थानीयवासी बताउँछन् । ‘यस क्षेत्रका अधिकांश जमिन झण्डै उपयोगविहीन जस्तो भइरहेको र तरकारी किनेर खानु पर्ने अवस्था थियो,’ पञ्चधाम कृषि विकास सहकारी संस्थाकी अध्यक्ष खिमकुमारी गुरुङले भनिन्, ‘अहिले प्रशस्त तरकारी तथा कृषिजन्य उत्पादन हुँदा त्यसको उपयोग त गरिरहेकै छौँ, बजारसम्म पु¥याएर बिक्री वितरण गर्दा आय आर्जनमा समेत धेरै सुधार भएको छ ।’ सचेतना अभिवृद्धिसँगै कृषक प्राङ्गारिक उत्पादनतर्फ प्रेरित भएको उनले बताइन् । परियोजनाअन्तर्गत यस क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारीका बीउबिजन वितरण गरिएको छ भने ११३ ओटा प्लास्टिक टनेल वितरण गरिसकिएको छ । प्राङ्गारिक उत्पादनसँगै स्थानीय कृषकले वार्षिक करिब ५० लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
स्थानीयवासीलाई मलमूत्रको व्यवस्थापन गर्न भकारा सुधार तथा मलखाद्य व्यवस्थापन, जैविक मल, भिटामिन र विषादी बनाउने तरिका आदिबारे जानकारी गराइएको माछापुच्छे« विकास सङ्घका कार्यकारी निर्देशक दिलबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार कृषि जैविक विविधताको संरक्षण तथा उपयोगमा युवाको संलग्नता बढाउनका साथै बजार व्यवस्थापन र कृषि सहकारी संस्थाको स्थापना आदिका कारण यस क्षेत्रका कृषकको पोषण सुरक्षा र जीविकोपार्जनमा महत्त्वपूर्ण सुधार देखिएको छ । विगतमा बाँझो बन्न पुगेका जग्गालाई पछिल्लो समय कृषि उत्पादनका लागि उपयोग गर्नेतर्फ कृषक आकर्षित बन्ने गरेको प्रगतिशील अर्गानिक कृषि समूहकी अध्यक्ष दुर्गा पौडेलले बताइन् ।
‘दुई रोपनी जग्गामा अर्गानिक फार्म सञ्चालन गरेर टनेलबाट बाह्रै महिना गोलभेँडा र तरकारी उत्पादन गरेर वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिएको छ’, उनले भनिन्, ‘उक्त आम्दानीका कारण केटाकेटी पढाउन र घर खर्च चलाउन पनि निकै सहज भएको छ ।’ विषादीको प्रयोगबाट मानवीय स्वास्थ्यमा पार्ने नकारात्मक असर सम्बन्धमा कृषकलाई सचेत गराउँदै उक्त क्षेत्रका ३३१ भन्दा बढी भकारा सुधार गर्दै खेर गइरहेका गाईबस्तुको मूत्र सङ्कलन गर्ने गरिएको छ । सङ्घले मलखाद सुधारको अभियान सुरु गरेर स्थानीय तहमा जैविक झोल तथा गड्यौँलाको मल बनाएर उपयोग गर्न सिकाएका कारण बोटबिरुवामा लाग्ने रोग तथा कीराको व्यवस्थापनमा सहजता आएको स्थानीय कृषक सदाखर पौडेलले बताए ।
‘छोटो समयमा पर्यावरणीय व्यावसायिक कृषिको नमुना यहीँबाट प्रभावकारी रुपमा सुरुवात् भइरहेको छ’, उनले थपे, ‘प्राङ्गारिक खेतीको सम्भावना प्रचुर भएका कारण नयाँ पुस्ताका युवायुवतीलाई यसतर्फ आकर्षित गर्नु अहिलेको आवश्यकता हो ।’ प्राङ्गारिक उत्पादनको बजारमा धेरै माग भए पनि मागअनुसार आपूर्ति हुन नसकेको बताउँदै लि–बर्डका कार्यक्रम निर्देशक भरत भण्डारी यस अभियानलाई अन्य क्षेत्रमा समेत अनुसरण गर्दै सञ्जाल बनाउन सके अति राम्रो हुने धारणा राख्छन् ।
सामुदायिक रुपमा प्रयास गरेमा प्राङ्गारिक उत्पादन आय आर्जनको महत्त्वपूर्ण स्रोत बन्न सक्ने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताए ।
वासुदेव पौडेल, रासस