चीनको सिचुवान प्रान्तको इविन सहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहेका खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा विकास गर्न अझै धेरै काम गर्न बाँकी छ भन्दै चीन सरकारसँग सहकार्यको प्रस्ताव राखेका हुन् ।
बेइजिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताएका छन् ।
चीनको सिचुवान प्रान्तको इविन सहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहेका खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा विकास गर्न अझै धेरै काम गर्न बाँकी छ भन्दै चीन सरकारसँग सहकार्यको प्रस्ताव राखेका हुन् ।
सो अवसरमा मन्त्री खनालले नेपालमा गुणस्तरीय चिया उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा सन्तोषजनक उपस्थिति बनाउन नसकिरहेको सन्दर्भमा नेपालको चियालाई विश्वबजारमा पुर्याउन इविनले उपलब्ध गराएको मञ्च नेपालका लागि ठूलो अवसर हो भने ।
चिनियाँ उपकरण तथा मेसिनको प्रयोग गरी नेपालमा हाल चिया उत्पादन गर्ने एक सय बढी साना कारखाना सञ्चालनमा छन् । नेपालमा ठूलो मात्रामा चिया उत्पादन भए पनि न्यून परिमाणमा मात्र चिया चीनतर्फ निर्यात भएको छ । “यो परिमाणलाई बढाउँदै लाने हाम्रो प्रयास जारी छ । किनकि हामीलाई थाहा छ, चियालाई पेयपदार्थको रूपमा मात्र होइन, संस्कृति, माया एवं सम्मान गर्ने मुलुकका रूपमा पनि चीनलाई लिइने गरिन्छ”, मन्त्री खनालले भने ।
राणा प्रधानमन्त्री जङ्गबहादुरलाई चिनियाँ सम्राटले उपहारस्वरुप दिएको चियाको बीउ पूर्वी नेपालको इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरू भएको यस क्षेत्रका जानकारको भनाइ छ ।
उक्त सम्मेलनमा चिया क्रेता बिक्रेताबीचको भेटघाट, चियाको प्रदर्शनी, कालो चिया उद्योग मञ्च, लगानी प्रवर्द्धन तथा करार सम्झौता, एसियाली चिया सङ्गठनको भेला, अन्तर्राष्ट्रिय साना चिया व्यवसायी भेलालगायतका महत्त्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्मेलनमा नेपाली किसान तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित ४० देशका झण्डै एक हजार प्रतिनिधिको सहभागिता छ ।
त्यसैगरी, मन्त्री खनालले नेपालमा आगामी मार्च २९ र ३० मा हुन लागेको लगानी सम्मेलनमा मित्र राष्ट्रहरुको सहभागिता र समन्वयको खाँचो रहेको अाैंल्याउनुभएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए । मन्त्री खनालले नेपालले विकास र समृद्धिका दृष्टिले छिमेकी राष्ट्रहरु चीन र भारतको सद्भाव र त्रिदेशीय सहकार्यको अधिकतम सदुपयोग गर्न चाहेको छ भने । खनालले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) ऐतिहासिक रहेको भन्दै यसले व्यावसायिक र सांस्कृतिक हिसाबले विश्वलाई जोड्न सफल हुनेमा नेपाल विश्वस्त रहेको बताए ।
इविन सहर र पोखरा महानगरपालिकाबीच भगिनी सम्बन्धसमेत स्थापित भइसकेको र यी दुई सहरले नेपाली र चिनियाँलाई विभिन्न तरिकाले थप नजिक बनाउन काम गरिरहेका छन् । रासस