होलीमा लोला हान्दै हुनुहन्छ ? होसियार, एक वर्ष जेल बस्नुपर्ला !

होलीको बहानामा अरुलाई जबरजस्ती लोला हान्ने, बाटो हिँड्ने बटुवालाई जबरजस्ती रङ दल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलगायत उच्छृङ्खल कार्य गर्नेलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न उपत्यकाभित्रका सबै प्रहरी कार्यालयलाई निर्देशन दिएको आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

काठमाडाैं । होली पर्वलाई लक्ष्य गर्दै प्रहरीले उपत्यकामा विषेश सुरक्षा परिचालन गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालले आफू मातहतका काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी परिसरलगायत सम्पूर्ण प्रहरी कार्यालयलाई होलीमा गम्भीर बन्न निर्देशन दिएको छ ।

होलीको बहानामा अरुलाई जबरजस्ती लोला हान्ने, बाटो हिँड्ने बटुवालाई जबरजस्ती रङ दल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलगायत उच्छृङ्खल कार्य गर्नेलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न उपत्यकाभित्रका सबै प्रहरी कार्यालयलाई निर्देशन दिएको आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

इच्छाबेगर लोला हान्ने तथा रङ दल्नेलाई पक्राउ गरी अभद्र व्यवहार गरेको कसुरमा प्रहरीले मुद्दा चलाउने बताइएको छ । त्यसैगरी काठमाडौंको वसन्तपुर, भक्तपुरको दरबारक्षेत्र, ललितपुरको दरबारक्षेत्रमा हुने होली कार्यक्रमलाई लक्ष्यगरी विषेश सुरक्षा परिचलान गरिएको प्रहरीले जनाएको छ ।

‘उपत्यकाका तीन ओटै जिल्लामा होलीको सुरक्षामा पर्याप्त प्रहरी परिचालित हुनेछन्,’ प्रवक्ता ज्ञवालीले भने, ‘सूचना सङ्कलनका लागि त्यति नै मात्रामा सादा पोसाकका प्रहरीसमेत परिचालित छन् ।’

सुरक्षा व्यवस्था

प्रहरीले होलीको दिनमा काठमाडौंका १०७ ठाउँमा पिकेट चेकजाँच राखेको छ । यसक्रममा २० स्थानमा मोबाइल टोली, क्विक रेस्पोन्स टीम ‘क्यूआरटी’ मोटरसाइकल ९२ ओटा, २८ स्थानमा पैदल गस्ती, चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी विभिन्न सङ्घ सस्था र क्लबले जिल्ला प्रशासन कार्यालयको अनुमतिमा काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर, भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र सामाखुसीलगायतका १८ स्थानका होली विशेष कार्यक्रम तए गरेका छन् । ती स्थानमा पनि प्रहरीले सुरक्षा व्यवस्था मिलाएको बताइएको छ ।

गत वर्षका घटना–दुर्घटनालाई अध्ययन गरी यस वर्षको होलीमा सुरक्षा व्यवस्था मिलाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए । ‘हामीले विगतमा भएका कमीकमजोरीलाई केलाएका छौं, त्यहीँ प्रहरी खटिने छन्,’ एसएसपी लामाले भने । त्यसैगरी होलीको बहानामा ट्राफिक नियम मिच्ने सवारी चालकलाई कडा कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

होलीको बहानामा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही गर्न भ्यालीमा पर्याप्त ट्राफिक प्रहरी परिचालन गरिने महाशाखा प्रमुख एसएसपी पन्तले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका सडकमा बुधबार बिहानदेखि भित्री तथा बाहिरी सडकमा चेकिङ प्वाइन्ट राखिने छ । प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकिङ प्वाइन्ट राखिने एसएसपी पन्तले बताए ।

‘सडक दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले कुनै पनि कसर बाँकी राख्ने छैन, त्यसमा चालक स्वयंले पनि विचार गर्नु पर्यो,’ एसएसपी पन्तले भने ।