बीपीसीको एफपीओमा बोर्डको ध्यानाकर्षण

निजीकरण ऐन, २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको बुटवल पावर कम्पनीको सेयरमध्ये चुक्तापुँजीको ७५ प्रतिशत सेयर निजीकरणको प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई बिक्री गरी हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीले निष्काशन गरेको थप सार्वजनिक निष्काशन(एफपीओ) सम्बन्धमा ध्यानाकर्षण जनाएको छ ।

निजीकरण ऐन, २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको बुटवल पावर कम्पनीको सेयरमध्ये चुक्तापुँजीको ७५ प्रतिशत सेयर निजीकरणको प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई बिक्री गरी हस्तान्तरण गरेको बोर्डले जनाएको छ । त्यसपछि नेपाल सरकारले थप १२ प्रतिशत सेयर सर्वसाधारण तथा कर्मचारीहरुका लागि नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा केही प्रिमियम थप गरी सार्वजनिक निष्काशन गरेको जनाएको छ । कम्पनीका ती सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भई दोस्रो बजारमा कारोबार भइरहेको छ । सोही बमोजिम कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको प्रतिनिधित्व समेत छ । सार्वजनिक निष्काशनमार्फत नेपाल टेलिकमले समेत नेपाल सरकारको स्वामित्वमा रहेको सेयर सर्वसाधारणमा बिक्री गरी धितोपत्र बजारमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार समेत भइरहेको छ ।

धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थाबमोजिम सूचीकृत सङ्गठित संस्थाले पुँजी वृद्धि गर्नुपरेमा हकप्रद सेयर निष्काशन वा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था छ । बुटवल पावर कम्पनीले पनि नेपाल सरकारको स्वामित्वमा रहेको सेयर बोर्डबाट अनुमतिपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धकमार्फत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी नेप्सेमा सूचीकृत गराई कारोबार समेत भइरहेको छ । सो कम्पनीले प्रवद्र्धन गरेका आयोजनाहरुका लागि आवश्यक पुँजीनिर्माण र परिचालन गर्न साधारण सभाबाट निर्णय गराई थप सार्वजनिक निष्काशनको लागि अनुमति माग गरेकोमा धितोपत्र बोर्डले नियमावली तथा निर्देशिकाको व्यवस्थाअनुसार थप सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको जनाएको ।

सो नयाँ निष्काशनको मूल्य निर्धारण सम्बन्धमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएका मापदण्डहरुअनुसार भएको हो । निर्देशिकामा पछिल्लो तीनवर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्तहुने नगदप्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सातदिन अगाडिको एक सय असीदिनको औसत बजार मूल्य गणना गरी प्राप्तहुने कुल मूल्यको औसत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीयविवरण अनुसारको प्रति सेयर नेटवर्थको चार गुणाले हुनआउने मूल्यमा जुनकम हुन्छ सो रकमलाई थप सार्वजनिक निष्काशनको मूल्य कायम गर्नुपर्ने व्यवस्था छ ।

बोर्डले निष्काशन अनुमति प्रदान गर्ने तथा अन्य कार्यहरु धितोपत्रसम्बन्धी ऐन र सो अन्तर्गतका नियम तथा निर्देशिकाको अधीनमा रही गर्दै आइरहेको सन्दर्भमा उक्त कम्पनीको थप सार्वजनिक निष्काशन सम्बन्धमा प्रकाशित अन्यथा समाचारप्रति कुनै सत्यता नरहेको बोर्डले जनाएको छ ।