५५०० मेगावाटका ७ जलाशययुक्त आयोजना, विदेशीले गर्लान् त लगानी ?

लगानी बोर्डले ४१० मेगावाटको नलगाड, ६५२ मेगावाटको एसआर–६, १११० मेगावाटको सनुकोसी दोस्रो, ५३६ मेगावाटको सुनकोसी तेस्रो, ७५६ मेगावाटको तमोर, पश्चिम सेती र एसआर–६ संयुक्तको १२०० र पश्चिम सेती ७५० मेगावाटका आयोजना प्रस्तुत गर्नेछ । यी सबै जलाशययुक्त आयोजना हुन् ।

काठमाडौं । सरकारले आसन्न लगानी सम्मेलनमा ठूला सात ओटा जलाशययुक्त आयोजना सोकेसका रुपमा प्रस्तुत गर्ने भएको छ । ती आयोजनाको जडित क्षमता ५ हजार ४१४ मेगावाट छ । सम्भाव्यता अध्ययनका चरणमा रहेकाले आयोजनाको क्षमता बढ्ने सम्भावना छ । यी आयोजना बनाउन खर्बौं रुपैयाँ लगानी आवश्यक पर्नेछ ।

लगानी बोर्डले ४१० मेगावाटको नलगाड, ६५२ मेगावाटको एसआर–६, १११० मेगावाटको सनुकोसी दोस्रो, ५३६ मेगावाटको सुनकोसी तेस्रो, ७५६ मेगावाटको तमोर, पश्चिम सेती र एसआर–६ संयुक्तको १२०० र पश्चिम सेती ७५० मेगावाटका आयोजनाको प्रस्तुति गर्ने छ । यी सबै जलाशययुक्त आयोजना हुन् ।

नलगाडको हाल विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको चरणमा छ । नलगाड जाजरकोट जिल्लामा छ । आयोजना बनाउन निर्माण अवधिको ब्याज र ४०० केभी प्रसारणलाइनसमेत गरी झन्डै ७५ अर्ब रुपैयाँ अर्थात ७३ करोड ९३ लाख ९० हजार अमेरिकी डलर लाग्ने अनुमान छ ।

एसआर–६ सुदूरपश्चिमको डोटी र अछाम जिल्लामा छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९९३ मा यसको अध्ययन गरेको थियो । यो जलाशययुक्त आयोजना बनाउन झन्डै डेढ खर्ब रुपैयाँ अर्थात् १ अर्ब १७ करोड ५० लाख डलर लाग्नेछ ।

सुनकोसी दोस्रो सिन्धुली र रामेछाप जिल्लामा पर्छ । यसको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । यसको अनुमानित लागत झन्डै डेढ खर्ब रुपैयाँ अर्थात् १ अर्ब २ करोड ७० लाख डलर छ । सुनकोसी तेस्रो आयोजना काभ्रे जिल्लामा छ । यो आयोजना बनाउन झन्डै ६० अर्ब रुपैयाँ अर्थात ५८ करोड २० लाख डलर लाग्ने अनुमान छ ।

तेह्रथुम र पाँचथरमा रहेको तमोर स्टोरेजको हाल नेपाल विद्युत् प्राधिकरणले सम्भाव्यता अध्ययन गरिरहेको छ । यो आयोजना आर्थिक रुपमा सम्भाव्य देखिएको छ । तमोर स्टोरेज बनाउन डेढ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।

पश्चिमसेती र एसआर–६ एकीकृत आयोजना सुदूरपश्चिमको बझाङ, डोटी र डडेलधुरामा पर्छ । यस्तै पश्चिमसेती डोटी र डडेलधुरामा पर्छ । यो आयोजनाको पनि सम्भाव्यता अध्ययन भइसकेको छ ।

चैत १५ र १६ गते दुई दिन काठमाडौंमा हुने लगानी सम्मेलनमा प्रस्तुतिका लागि यी आयोजना छनोट गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । सात ओटै प्रदेशका जलविद्युत् आयोजना सम्मेलनमा पेस हुन लागेका हुन् ।

दुई वर्षअघि काठमाडौंमा भएको सम्मेलनमा प्रतिबद्धता गरिएकामध्ये २५ प्रतिशत लगानी आउने अवस्थामा पुगेको छ । हालसम्म विभिन्न परियोजनामा २ खर्ब ७५ अर्ब रुपैयाँबराबरको लगानी आउने क्रममा रहेको बोर्डले जानकारी गराएको छ ।

त्यसबेला १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनका लागि डेस्क स्टडिज र तथ्याङ्क सङ्कलनको काम भइरहेको बोर्डले जानकारी दिएको छ ।