नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्त्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदुर यूनियन (युनिट्राभ)ले होटलले उठाएजस्तै १० प्रतिशत सेवा शुल्क पर्यटन क्षेत्रका मजदुरहरुलाई पनि अनिवार्य रुपमा दिनुपर्ने माग राखेका छन् ।
काठमाडौं । पर्यटन क्षेत्रका होटल तथा रेस्टुरेन्ट क्षेत्रमा १० प्रतिशत सेवा शुल्क लगाइरहेका बेला नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ र क्लाइम्बिङ क्षेत्रका श्रमिकहरुले पनि १० प्रतिशत सेवा शुल्क लगाउने व्यवस्था गर्न माग गरेका छन् ।
नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्त्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदुर यूनियन (युनिट्राभ)ले होटलले उठाएजस्तै १० प्रतिशत सेवा शुल्क पर्यटन क्षेत्रका मजदुरहरुलाई पनि अनिवार्य रुपमा दिनुपर्ने माग राखेका छन् ।
युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले तिनै मजदुरहरुले ल्याएको पर्यटनबाट होटल क्षेत्रले लामो समयदेखि १० प्रतिशत सेवा शुल्क लिइरहेको भन्दै आफ्ना मजदुरहरुलाई पनि १० प्रतिशत सेवा शुल्क दिन सम्बन्धित निकायहरुलाई अनुरोध गरेका छन् ।
केही समयअघि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले ग्राहकमार्फत् लिँदै आएको १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरिरहेका बेला युनिट्राभले मजदुरहरुलाई सेवा शुल्क माग गरेको हो । युनिट्राभका अध्यक्ष पराजुलीले कुनै पनि पर्यटनसँग सम्बन्धित व्यवसायमा उठेको रकमको १० प्रतिशत रकम मजदुरका लागि छुट्याउनु पर्ने बताएका छन् ।