काठमाडौंको होटल सोल्टीमा हुने सम्मेलन र त्यहाँ आउने विदेशी पाहुनाको सुरक्षा व्यवस्थाका लागि सरकारले निर्देशन दिएको र सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाउन लागिपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
काठमाडौं । चैत्र १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा ५१ देशका ६ सय पाहुना सहभागी हुने भएका छन् । सम्मेलनमा मन्त्री, लगानीकर्ता, अर्थविद् तथा निजी क्षेत्रका सक्रिय व्यक्तित्वहरु सहभागी हुने भएका हुन् ।
देशमा लगानीको वातावरण बनेको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा आउने पाहुनाको सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी जुटेको छ ।
सम्मेलनमा आउने पाहुना बस्ने ठाँउको सुरक्षा व्यवस्था, उनीहरुलाई घुमाउने ठाँउको प्रबन्ध मिलाउन प्रहरी लागेको छ ।
काठमाडौंको होटल सोल्टीमा हुने सम्मेलन र त्यहाँ आउने विदेशी पाहुनाको सुरक्षा व्यवस्थाका लागि सरकारले निर्देशन दिएको र सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाउन लागिपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
सम्मेलनमा आउने पाहुनाहरु होटल सोल्टी, अन्नपूर्ण, याक एन्ड यती, हायात र साङ्ग्रीला होटलमा बस्ने भएका छन् । उनीहरुको सुरक्षाका लागि प्रहरीले सुरक्षा योजना बनाउन थालेको डीआईजी थापा क्षेत्रीले बताए ।
‘लगानी सम्मेलनमा आउने पाहुनाको सुरक्षा व्यवस्थासँगै उनीहरु अवलोकनमा जाने स्थानको सुरक्षा व्यवस्था मिलाउन भनिएको छ, हामी त्यहीअनुसार योजना बनाउँदै छौं,’ डीआईजी थापा क्षेत्रीले भने ।
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा फ्रान्स र म्यानमारका मन्त्री आउने तय भएको छ ।
प्रहरीले कार्यक्रमस्थल उनीहरुको बासस्थान र उनीहरुले प्रयोग गर्ने सडक तथा अवलोकन गर्ने स्थानको सुरक्षामा कुनै कमी आउन नदिने बताएको छ ।
लगानी सम्मेलनलाई लक्ष्य गरी विप्लव समूहले गर्ने गतिविधिप्रति प्रहरी गम्भीर रहेको डीआईजी थापा क्षेत्रीले बताए ।