अर्थशास्त्री मदनकुमार दाहालको निधन

उनले १९७१ जुनदेखि २००९ मेसम्म ३८ वर्ष निरन्तर त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको अध्यापन गरेका थिए । अर्थशास्त्र विभागको प्रमुखसमेत भएर काम गरेका उनी स्नातकोत्तर, एमफिल र विद्यावारिधिमा अर्थशास्त्रका विद्यार्थीहरुका लागि प्रेरणाका स्रोत थिए ।

अर्थशास्त्री प्राध्यापक डा. मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनले १९७१ जुनदेखि २००९ मेसम्म ३८ वर्ष निरन्तर त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको अध्यापन गरेका थिए । अर्थशास्त्र विभागको प्रमुखसमेत भएर काम गरेका उनी स्नातकोत्तर, एमफिल र विद्यावारिधिमा अर्थशास्त्रका विद्यार्थीहरुका लागि प्रेरणाका स्रोत थिए ।

भारतको बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले अर्थशास्त्रीहरुको छाता सङ्गठन नेपाल आर्थिक सङ्घको अध्यक्षसमेत भएर काम गरेका थिए । उनी मेगा बैङ्क नेपालका पूर्व अध्यक्षसमेत हुन् ।

वामपन्थी विचारधारामा विश्वास राख्ने दाहालले सार्वजनिक पद भने कहिल्यै हासिल गरेनन् । पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय दाहालका नेपालः अ कन्ट्री इन ट्रान्जिसन, नेप्लिज इकोनोमीः टुवार्ड्स बिल्डिङ अ स्ट्रोङ इकोनोमिक नेसन–स्टेटजस्ता दर्जनौं अर्थशास्त्रका पुस्तक प्रकाशित छन् । उनी राजस्वमा पनि चाख राख्ने भएकाले अर्थ मन्त्रालयमा विधिवत रुपमा गठन हुन नसकेको राजस्व बोर्डको संयोजकसमेत भएर काम गरेका थिए ।

दाहालको निधनले नेपाली अर्थशास्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । दाहालको आत्माले शान्ति पाओस् ।