नेपालमा पहिलो पटक बन्ने भो फुटवेयर जोन, यस्ता छन् सुविधा

जुत्ता चप्पल बनाउनका लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थ आवश्यक पर्छ । त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । विदेशीबाट सीप, प्रविधि, उपकरण ल्याएर यहाँ प्रयोग गर्न सके नेपालको फुटवेयर उद्योगले फड्को मार्न सक्ने देखिन्छ ।

जुत्ता व्यवसायीले लामो समयदेखि फुटवेयर जोन स्थापना गनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ । जुत्ता, चप्पल उद्योगको प्रवद्र्धनको लागि सरकारले कीर्तिपुरमा फुटवेयर जोन स्थापना गर्ने निर्णय गरेको हो ।

स्वदेशी जुत्ताचप्पलको उत्पादन व्यवस्थित गर्नको लागि कीर्तिपुरमा फुटवेयर जोन स्थापना गर्नको लागि कीर्तिपुर नगरपालिकासँग सम्झौता गरेर काम अघि बढेको उद्योग मन्त्रालयले जनाएको छ । कीर्तिपुरमा करिब एक हजार रोपनी जग्गा लिएर फुटवेयर जोन स्थापना गर्न लागिएको हो । जग्गा लिने प्रक्रिया अघि बढेकोे छ ।

निजी क्षेत्रको माग अनुसार फुटवेयर जोन स्थापना गर्ने निर्णय भएको उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले बताइन् । ‘फुटवेयर जोन स्थापना गर्न कीर्तिपुर नगरपालिकासँग सम्झौता भैसकेको छ, खतिवडाले भनिन्, ‘ पूर्वाधार निर्माणमा सघाउँछ ।’ शहरी विकास मन्त्रालयको रोबहरमा सम्झौता भएको हो ।

जुत्तालाई एकै छानामुनि उत्पादन गर्नको लागि औद्योगिक क्षेत्र स्थापना गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले लविङ गर्दै आएको थियो । फुटवेयर जोन स्थापना भएपछि तालिम केन्द्र, सामूहिक सुविधा केन्द्र स्थापना, सोल रबर उद्योग पनि स्थापना गरिने छ । अहिले जुत्ता,चप्पल उद्योगले कामदार अभाबमा भारतबाट ल्याउनु पर्ने बाध्यता छ ।

फुटवेयर जोन स्थापना गरेर बजारलाई व्यवस्थित गर्न सके स्वदेशी उद्योगले मुलुकभित्र र बाहिर पनि बजार विस्तार गर्न सक्छन् । स्वदेशी उद्योगले बजार मागको ६२ प्रतिशत मात्र आपूर्ति गरिरहेकोे छ । नेपालमा वार्षिक करिब छ करोड जोर जुत्ता, चप्पल बिक्री हुने व्यवसायी बताउँछन् । नयाँ डिजाइनका जुत्ता, चप्पल उत्पादन गर्न सके लगानी गर्ने अवसर पनि छ ।

नेपालमा साना ठूला गरी करिब २ हजार उद्योग सञ्चालमा छन् । पछिल्लो दुई वर्षको अवधिमा यो उद्योगमा करिब पाँच अर्ब लगानी थपिएको छ । १५ अर्बबाट बढेर २० अर्ब रुपैयाँ लगानी पुगेको एसोसिएसनले जनाएको छ ।

पछिल्लो समय नेपाली जुत्ता बजारमा स्वदेशी उद्योगले वर्चस्व जमाउँदै गएका छन् । स्वदेशी उद्योगले पार्टी वेयर, क्याजुअल, स्कुल, कलेज, स्पोर्टस सुज, सेना, प्रहरीले लगाउने बुट उत्पादन गरिरहेका छन् । विगतमा विदेशबाट कच्चा पदार्थकै भर पर्ने जुत्ता उद्योगले पछिल्लो समय नेपाली छालाको सोल बनाउने, लाइनिङ, केमिकल पनि प्रयोग गर्न थालेका छन् । यस क्षेत्रमा ५५ हजारले प्रत्यक्षसहित साढे २ लाख जतिले रोजगारी पाएको एसोसिएसनले जनाएको छ ।

यहाँ उद्योगले करिब साढे २ अर्ब रुपैयाँको जुत्ता, चप्पल निर्यात गरेका छन् । यस क्षेत्रलाई व्यवस्थित गर्न सके अन्र्तराष्टिय बजारमा नेपाली जुत्ता,चप्पलको बजार बिस्तार हुन सक्ने व्यवसायी बताउँछन् ।जुत्ता उद्योगसँगै घरेलु रुपमा उत्पादन हुने छालाका ज्याकेट, पर्स, ब्याग, बेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन् । नेपाली जुत्ता, चप्पलहरू भारत, चीन, भुटान लगायतका मुलुकमा निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

जुत्ता चप्पल बनाउनका लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थ आवश्यक पर्छ । त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । विदेशीबाट सीप, प्रविधि, उपकरण ल्याएर यहाँ प्रयोग गर्न सके नेपालको फुटवेयर उद्योगले फड्को मार्न सक्ने देखिन्छ ।