सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

कार्यक्रम कार्यान्वयनसँगै जिल्लामा गहुँ बालीको उत्पादकत्व प्रति हेक्टर ३.३८ पुर्याउने लक्ष्य लिइएकोे छ । गहुँ बालीका लागि जिल्लाको जग्गा उर्बर मानिन्छ । जिल्लामा झण्डै ३४ हजार हेक्टरमा गहुँ बालीे खेती गरिएकामा हालको उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा बढी अर्थात प्रति हेक्टर २.५१मे टन पुगेको छ ।

धनगढी । गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ ।

गएको वर्ष गहुँको राम्रो उत्पादन गरेका उनलाई सुपरजोनको कार्यालयले नगद पुरस्कारसमेत प्रदान गरेकाले उनमा हौसला बढेको थियो । बालीमा ‘क्रप कटिङ‘ गरेर तोकिएको मापदण्डका आधारमा बढी उत्पादन गर्नेलाई गएको वर्ष पुरस्कार दिइएको थियो । गौरीगङ्गाको नुक्लिपुर कृषक समूहका सचिव दिनेश दहितले भने, “यो कार्यक्रम लागू भएसँगै गहुँ बालीको उत्पादकत्व विगतको भन्दा बढ्दै जाँदा किसान खुशी छन् ।” छब्बीस किसान सहभागी भएको नुक्लिपुर कृषक समूहले यस वर्ष १५ बिघामा गहुँको बिज वृद्धि खेती गरिरहेको छ ।

उक्त कार्यक्रमबाट सहयोग पुग्न थालेपछि सो क्षेत्रका अन्य कृषकले समेत सामूहिक रुपमा गहुँ बालीको बिज वृद्धिमा लागेका छन् । “विगतमा दश कट्ठा जग्गामा गरिएको गहुँ खेतीले १५ क्वीन्टलसम्म गहुँ फलाएको थिएँ, सुपरजोनमा समेटिएका अर्का किसान भागीरामले भने, “यस वर्ष गहुँ बाली राम्रो रहेकाले विगतमा भन्दा बढी फल्ने अनुमान गरेको छु ।”

चालीस कृषक सदस्य रहेको उदासीपुरको मल्लिकार्जुन कृषक समूहले सुपर जोन कार्यक्रमबाट गाउँमा सिँचाइका लागि पानी तान्ने पम्पिङ सेट पाएको छ । उक्त समूहका किसानले गएको वर्ष भकारो सुधार (गोठ सुधार) का लागि पनि अनुदान सहयोग पाएको थियो।

कार्यक्रम लागू भएपछि तोकिएको अनुदानमा उन्नत बीउबिजन, मलखाद, सिँचाइलगायतमा पुगेको सहयोगले परम्परागत ढङ्गले खेती गर्ने सोचमा समेत परिवर्तन हुनाका साथै त्पादकत्व पनि वृद्धि हुँदै गएको सम्बद्ध कृषकको भनाइ थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलाली जिल्लामा सञ्चालनमा रहेको उक्त कार्यक्रमअन्तर्गत हाल एक हजार २५० हेक्टरमा जमिनमा गहुँ बालीको खेती भइरहेको छ तर प्रर्याप्त बजेट अभावका कारण गहुँ बालीको थप क्षेत्र विस्तार गर्न सकिएको छैन ।

प्रर्याप्त बजेट अभावका कारण किसानले गरेको अपेक्षाअनुसारको सहुलियत यस वर्ष उपलब्ध गराउन नसकिएको परियोजना कार्यान्वयन एकाइ गहुँ ‘सुपरजोन‘ कार्यालयका प्रमुख गोविन्दराज जोशीले बताए ।

दुई वर्षअघि कार्यान्वयनमा ल्याइएको ‘गहुँ सुपरजोन‘ कार्यक्रम जिल्लाको मध्यक्षेत्रमा रहेका साविकका पहलमानपुर, उदासीपुर, बसौटी र मसुरिया गाविस क्षेत्रमा कार्यान्वयनको चरणमा छ ।

कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत सञ्चालन भइरहेको यो कार्यक्रम कार्यान्वयनका लागि परियोजनाले वार्षिक रूपमा छुट्याएको बजेटबाट अनुदानका साथै उन्नत बीउबिजन, मलखाद कृषि यन्त्रको सहयोग तथा माटो परीक्षण प्रशोधन केन्द्र स्थापनालगायतमा सहयोग पुर्याइरहेको छ ।
यस्तै बीज वृद्धि कार्यक्रम, साना सिँचाइ, भकारो सुधार, कम्पोष्ट मल बनाउनेलगायत गतिविधि पनि सञ्चालन हुँदै आएको छ । यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा तीन करोड तीन लाख रूपैयाँ बजेट विनियोजन भएको जनाइएको छ ।

कृषि उत्पादन वृद्धि गरी आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३/७४को बजेटमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्ने घोषणा गरेकोमा सोअन्तर्गत यस जिल्लामा गहुँबालीको सुपरजोन कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रम कार्यान्वयनसँगै जिल्लामा गहुँ बालीको उत्पादकत्व प्रति हेक्टर ३.३८ पुर्याउने लक्ष्य लिइएकोे छ । गहुँ बालीका लागि जिल्लाको जग्गा उर्बर मानिन्छ । जिल्लामा झण्डै ३४ हजार हेक्टरमा गहुँ बालीे खेती गरिएकामा हालको उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा बढी अर्थात प्रति हेक्टर २.५१मे टन पुगेको छ ।

कैलालीको साविकको उदासीपुर गाविसमा रहेको परियोजना कार्यान्वयन एकाइ कार्यालयमा दरबन्दी अनुसारका प्राविधिक र अन्य कर्मचारी नहुँदा भने कार्य सम्पादनमा कठिनाइ भइरहेको कार्यालय प्रमुख जोशीले बताए । –सिद्धराज भट्ट/रासस