आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ ओटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले जानकारी दिए ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।

यहाँका थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ ओटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले जानकारी दिए । उनले समुदायको आफ्नै लगानीमा सञ्चालित होमस्टेमा मुसहर समुदायलाई समेतसमेत समावेश गरिएको र स्थानीय वासीलाई सेयर वितरण गरिएको चौधरी बताउँछन् ।

उनका अनुसार अहिले सो क्षेत्रमा १५ घरमा होमस्टे चलाइएको र यहाँ दैनिक ३० जना पर्यटक बस्न मिल्ने क्षमता छ । चितवनको सौराहाबाट करिब ६ किलोमिटर पूर्वमा रहेको कठार, पर्यटकीय क्षेत्रका रूपमा विकास भएको कुमरोजसँग जोडिएको छ । यहाँ आएका पर्यटकलाई घरेलु वातावरणमा बस्न र स्थानीय समुदायको मौलिक खानाका स्वादहरू उपलब्ध हुने अध्यक्ष चौधरीले बताए ।

यो वर्ष खैरहनी नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेकाले सो रकमबाट थप तीनओटा होमस्टे निर्माण गर्ने योजना छ । सो होमस्टेमा लोकल मासु, थारूको मौलिक परिकार घुँगी र चिचर, हाँस, माछा, ढिँडो, सिस्नुको साग र फापरको ढिँडो, अग्र्यानिक सागसब्जी उपलब्ध हुने छन् । थारूसहित स्थानीय संस्कृतिमा समेत पर्यटक रमाउन सक्नेछन् । राप्ती नदी र चितवन निकुञ्जको छेवैमा रहेकाले सो क्षेत्रमा आएका पर्यटकले वन्यजन्तु अवलोकन गर्ने सक्नेछन् । जिप र हात्ती सफारी गरेर मजा लिन सक्नेछन् ।

मचान र टावरमा बसेर वन्यजन्तु अवलोकन गर्ने व्यवस्थासमेत यहाँ छ । अहिले विभिन्न मन्त्रालय, शिक्षा कार्यालयको समूहसमेत यहाँ आइसकेको बताउँदै चौधरीले पर्यटकले सकारात्मक सुझाव दिएको बताए ।

रासस