साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगपालिकाबाट एक करोड २० लाख र प्रदेश सरकारबाट ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विराटनगर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ महिला साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ विराटनगरमा सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेका हुन् ।
यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले एक लाख तथा विराटनगर महानगरपालिकाले ५० हजार प्रदान गर्ने निर्णय गरिसकेको छ ।
त्यस्तै एन्फाले आर्थिक वर्ष २०७५/७६ का लागि २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पनि पत्रकार सम्मेलनमा जानकागरी गराइएको थियो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकामा धन्यवाद दिँदै प्रदेश नं १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी दिए ।
उनले विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारीसबैको काँधमा आएको बताए ।
साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगपालिकाबाट एक करोड २० लाख र प्रदेश सरकारबाट ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । साफ खेलकूदबाट प्रतियोगिता सम्पन्न गर्न एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ । रासस