पूर्वप्रधानमन्त्री भट्टराई भन्छन्— निश्चित क्षेत्रमा केन्द्रित नभएसम्म विकास सम्भव छैन

समाजवाद उन्मुख अर्थतन्त्र भने पनि केही समय राष्ट्रिय औद्योगिक पुँजी निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्रै मुलुकको आर्थिक विकास लक्ष्य हासिल गर्न सकिने भट्टराईको भनाइ थियो । उनले आर्थिक विकासको पहिलो लक्ष्य कृषिको रुपान्तरण नै भएको बताए ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना आयोजनाको निरन्तरताले मात्रै आर्थिक विकासको लक्ष्य हासिल गर्न नसकिने बताएका छन् । निश्चित क्षेत्रमा केन्द्रित भएर योजना छनोट, बजेट र उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

सङ्घीय संसद्को अर्थ समितिको १५औं योजनाका प्राथमिकता र बजेटसम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । आगामी २५ वर्षभित्र मुलुक विकासशील अवस्थाबाट विकासोन्मुख र मध्यमस्तरीय हुँदै उच्च विकासको अवस्थामा पुग्न ‘टेक अफ’ उडान नगरेसम्म दुइ अङ्कको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ छ ।

समाजवाद उन्मुख अर्थतन्त्र भने पनि केही समय राष्ट्रिय औद्योगिक पुँजी निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्रै मुलुकको आर्थिक विकास लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो । उनले आर्थिक विकासको पहिलो लक्ष्य कृषिको रुपान्तरण नै भएको बताए ।

त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समयको ‘मोनिटरिङ भ्यालू’लाई आत्मसात् गर्दै राष्ट्रिय योजना विकास र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘सबै गर्छु भन्नु केही नगर्नु जस्तै हो । समयको महत्त्व बुझेर बरु केही विशिष्ट आयोजनालाई मात्रै फोकस गरेर अघि बढ्न सक्यांै भने मात्रै विकास लक्ष्यमा अघि बढ्न सकिन्छ’, उनले भने ।

योजना आयोग र अर्थ मन्त्रालयबीच छलफल र सामञ्जस्य हुन नसक्दा विगतका केही योजना डकुमेन्टमा मात्रै सीमित भएको बताए । राष्ट्रिय योजना आयोगका तर्फबाट १५ योजनाका प्राथमिकता, बजेट र विकासका आधारहरुबारे समितिलाई जानकारी गराइएको थियो । २०३० सम्ममा प्रतिव्यक्ति आय ३१०० र दुइ अंकको आर्थिक वृद्धिका रुपमा १५ योजनालाई रुपान्तकारी आधार वर्षका रुपमा लिइएको छ ।

आयोगका तर्फबाट प्रस्तुत विवरणअनुसार दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न २५ वर्षमा ९७ अर्ब लगानी आवश्यक पर्छ । कृषि, उद्योग र पर्यटनलाई मुख्य आधार बनाई पुँजीगत बजेट व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ ।