उक्त शाखाका प्राविधिक ईन्द्र सुवेदीले सत्रखम्बा फलफूल नर्सरीका किसान अम्मरबहादुर रावत र कालिका फलफूल नर्सरीका रतनबहादुर रावतलाई हाइटेक नर्सरी सञ्चालनका लागि एक करोड १७ लाख रुपैयाँ सहयोग गरिएको र यो कार्यक्रम यसै वर्ष सञ्चालनमा आउने बताए ।
खलङ्गा । स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अब अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय ‘सुपरजोन’ जुम्ला शाखाले जनाएको हो ।
उक्त शाखाका प्राविधिक ईन्द्र सुवेदीले सत्रखम्बा फलफूल नर्सरीका किसान अम्मरबहादुर रावत र कालिका फलफूल नर्सरीका रतनबहादुर रावतलाई हाइटेक नर्सरी सञ्चालनका लागि एक करोड १७ लाख रुपैयाँ सहयोग गरिएको र यो कार्यक्रम यसै वर्ष सञ्चालनमा आउने बताए । शाखाका अनुसार हाइटेक नर्सरीबाट गुणस्तरीय बिरुवा उत्पादन गर्न सकिने र एक वर्षमा एक नर्सरीले ७५ हजार बढी बिरुवा उत्पादन गर्न सक्ने छ ।
नर्सरीका किसानलाई नर्सरी सञ्जीवनी हाइट नर्सरीले प्राविधिक ज्ञान दिइरहेको छ । जुम्लालाई अझै धेरै बिरुवाको आवश्यकता हुनाका साथै अन्य जिल्लामा पनि गुणस्तरीय बिरुवा निर्यात गर्ने उद्देश्यका साथ दुई हाइटेक नर्सरी घर बनाइएको छ। सो नर्सरीबाट उत्पादन भएको एक बिरुवाबाट करीब २० देखि ३० केजीसम्म स्याउ फल्ने अनुमान गरिएको छ ।
जुम्लामा योभन्दा पहिला जिल्ला कृषि विकास कार्यालयअन्तर्गत स्वीकृत गरिएका नर्सरीमार्फत पनि वर्षेनी बिरुवा उत्पादन हुने गरे पनि अपुग हुने गरेको थियो । ‘हामीले आफ्नै तरिकाले विगतमा स्याउको बिरुवा उत्पादन गरेका थियौँ अब भने आधुनिक प्रविधिद्वारास्याउ उत्पादन गर्ने अवसर मिलेको छ ।’ नर्सरी धनी रतन रावतले भने ।
प्रशस्त स्याउ फल्ने यहाँ स्याउखेतीलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ लागू गरिएको सो परियोजनाले जिल्लाको चन्दननाथ र तातोपानी गाउँपालिकामा काम गरिरहेको उक्त कार्यालयले जनाएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका नर्सरीबाट करीब एक लाख बिरुवा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत कँडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय बिरुवा जति उत्पादन भए निर्यात हुने सम्भावना छ । रासस