सञ्चय कोषका सञ्चयकर्ताको १३५ करोड लाभांश बेतन कर्णाली आयोजनाको सेयरमा परिणत, ४ अर्ब ३२ करोड लगानी जुट्यो

आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माण हुन लागेको हो । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । ५० अर्ब रुपैयाँ बैङ्कबाट ऋण लिने योजना तय भएको छ । आयोजनामा नबिल र नेपाल एसबीआई बैङ्कले ऋण लगानी गर्ने समझदारी गरेका छन् ।

काठमाडौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लाभांश ६८८ मेगावाटको बेतन कर्णाली आयोजना बनाउन लगानी गरिने भएको छ । योसमेत गरी सञ्चयकर्ताबाट ४ अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ ।

कोषले गत आर्थिक वर्षमा ४ अर्ब ९४ करोड रुपैयाँ खुदनाफा गरेकोमा जगेडा र सञ्चित कोषमा जम्मा गरेर बाँकी रहेको २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ ६ लाख सञ्चयकर्तालाई वितरण गरिएको कोषका आर्थिक प्रशासन प्रमुख ध्रुव अधिकारीले बताए ।

वितरणयोग्य नाफाको आधा रकम सञ्चयकर्तालाई नगद लाभांश र आधा बेतन कर्णालीमा सेयर लगानी गरिएको अधिकारीले जानकारी दिए । जुटेको रकममध्ये २८ करोड रुपैयाँ आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) लगायत काममा खर्च भएको उनले सुनाए । बेतन कर्णाली बनाउन सञ्चयकर्ताबाट ८ अर्ब रुपैयाँ लगानी जुटाउने लक्ष्य छ । यसको आधा रकम व्यवस्थापन भइसकेको उनले जानकारी दिए ।

आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माण हुन लागेको हो । आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । ५० अर्ब रुपैयाँ बैङ्कबाट ऋण लिने योजना तय भएको छ । आयोजनामा नबिल र नेपाल एसबीआई बैङ्कले ऋण लगानी गर्ने समझदारी गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको डीपीआर तयारीको काम गरिरहेको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बेतन कर्णालीको सम्भाव्यता अध्ययन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ ।

बेतन कर्णालीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानीसम्बन्धित विनियमावली बनाइसकेको छ । आयोजनामा कोष र विद्युत् प्राधिकरणको पनि लगानी हुनेछ । गत आर्थिक वर्ष ०७३/०७४ देखिको नाफा आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरिएको हो ।

अर्धजलाशययुक्त (पिकिङ) प्रकृतिको बेतन कर्णाली बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाबाट वार्षिक ४ अर्ब २६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसअनुसार हिउँदमा १ अर्ब ४९ करोड २० लाख र बर्खामा २ अर्ब ७७ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ । काम सुरु भएको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ ।

आयोजना सुर्खेत र आछममा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो प्रसारण लाइन बनाउनुपर्ने देखिएको छ ।