वर्षौंदेखि गैरकानुनी धन्दा चलाउँदै वर्ल्डलिङ्क, १२ वर्षपछि थाहा पायो महालेखाले

दूरसञ्चार ऐन, २०५३ अनुसार सेवा विस्तार गर्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने भए पनि वर्ल्डलिङ्कले १२ वर्षदेखि अनुमति नलिई सेवा विस्तार गरेको खुलेको हो ।वर्ल्डलिङ्कले २०६३/६४ देखि अनुमति नलिई दूरसञ्चार सेवा उपलब्ध गराएको आन्तरिक राजस्व कार्यालयमा पेस गरेको आय विवरणबाट देखिएको हो ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले विगत १२ वर्षदेखि गैरकानुनी धन्दा चलाउँदै आएको खुलेको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार सेवा विस्तार गर्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने भए पनि वर्ल्डलिङ्कले १२ वर्षदेखि अनुमति नलिई सेवा विस्तार गरेको खुलेको हो ।

वर्ल्डलिङ्कले २०६३/६४ देखि अनुमति नलिई दूरसञ्चार सेवा उपलब्ध गराएको आन्तरिक राजस्व कार्यालयमा पेस गरेको आय विवरणबाट देखिएको हो ।

ऐनको परिच्छेद पाँचको दफा २१ मा अनुमतिपत्रसम्बन्धी व्यवस्था छ । जसमा लेखिएको छ– ‘यो ऐन प्रारम्भ भएपछि कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न पाउने छैन ।’ ऐन २०५३ सालमा आएको हो ।

वर्ल्डलिङ्कले प्राधिकरणबाट अनुमति नलिई काठमाडौं उपत्यका बाहिर वर्ल्डलिङ्क कम्युनिकेसन वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरा, चितवन, लाहान, हेटौंडा, दाङ, मिथिलाञ्चल, पूर्वाञ्चल, फारवेस्ट र वेस्ट प्रालि कम्पनी स्थापना गरी दूरसञ्चार सेवा प्रवाह गरेको छ ।

कुनै पनि दूरसञ्चार सेवा सुरु गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणबाट तोकिएको सर्त र कानुनबमोजिम इजाजत प्राप्त गरेपश्चात् मात्रै दूरसञ्चार सेवा सुरु गर्नुपर्नेमा सो नगरी आर्थिक वर्ष २०६३/०६४ देखि दूरसञ्चार सेवा उपलब्ध गराएको आन्तरिक राजस्व कार्यालयलमा पेस गरिएका आय विवरणअनुसार देखिन्छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा २१ अनुसार अनुमति पत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाउने र दफा ४७ (२) अनुसार कुनै व्यक्तिले ऐनबमोजिम अनुमति नलिई दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो काम बन्द गराउन सक्ने व्यवस्था छ ।

ऐनको व्यवस्थाअनुसार कारबाही गरी जरिवाना असुल गर्नुपर्ने देखिएको महालेखाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले महालेखाले गम्भीर विषय उठान गरेको र त्यसलाई प्राधिकरणले गहन रुपमा अध्ययन गरिरहेको बताए । ‘यो विषय पहिला आन्तरिक राजस्व कार्यालयले हेरेको थियो,’ उनले भने, ‘त्यहाँबाट फरफारक भएको छ कि छैन, त्यो पनि बुझ्छौं, त्यसपछि आवश्यक कारबाही अघि बढाउँछौं ।’

‘कानुनको बर्खिलाप गरेर सेवा विस्तार गर्न कसैलाई पनि छुट हुँदैन,’ खनालले भने, ‘यदि वर्ल्डलिङ्कले त्यस्तो गरेको पाइए, कानुनबमोजिम कारबाही हुन्छ ।’