स्थाईरुपमा खेलाउने र गेस्ट हाउसमा चलाइने जुवाखालमा प्रहरीले कारबाही बढाएपछि मोबाइल जुवा सुरु भएको स्रोत बताउँछ । ‘उपत्यकामा जुवा खेलाउने केही प्रोफेसनल समूह छन्, जसले हप्ता दस दिनको अन्तरालमा मान्छे बटुल्ने, होटल तथा पार्टी प्यालेस भाडामा लिने अनि जुवा लेखाउँदै हिँड्ने गर्छन्,’ स्रोतले भन्यो ।
काठमाडौं । आर्थिक वर्ष २०६९–७० मा कर नतिरेपछि काठमाडौंका पाँचतारे होटलमा भएका जुवाघर (क्यासिनो) बन्द भए ।
जुवाघर बन्द भएपछि उपत्यकामा धमाधम अवैधरुपमा मिनी क्यासिनो खुल्न थाले । तर, पछि क्यासिनोले नाम परिवर्तन गर्दै अदालतबाट अन्तरिम आदेश लिएर क्यासिनो चलाउन थाले ।
क्यासिनोमा नेपालीलाई प्रवेश छैन, त्यसैले जुवा खेल्न पल्केकाहरुलाई अवैध रुपमा खुलेका मिनी क्यासिनोले आकर्षित गर्दै उनीहरुको माग पूर्ति गरे ।
राजधानीमा खुलेआम जुवा अखाडा चल्ने, प्रहरीले कारबाही गरेजस्तो गर्ने, तर पूरै बन्द नगर्ने भएपछि मिनी क्यासिनोको सिको गर्दै गेष्ट हाउसदेखि सामान्य खाजा बेच्नेले पनि जुवाखाल चलाउन थाले ।
समाजमा त्यसरी जुवाको जगजगी भएपछि स्थानीयबासीले नै प्रहरीलाई सूचना दिँदै जुवाखाल बन्द गराउन दबाव दिएकाले अहिले उपत्यकामा सञ्चालित जुवाखालमा प्रहरीले धमाधम छापा हान्न थालेको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्याङ्कअनुसार गएको साउनयता मात्र प्रहरीले ९० ओटा जुवाखालमा छापामारी आठ सय छ जनालाई पक्राउ गरेको छ ।
तथ्याङ्कअनुसार विगतका वर्षभरि हुने पक्राउ र कारबाहीभन्दा बढी चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले जुवा खेल्ने तथा खेलाउनेलाई कारबाही गरेको छ ।
प्रहरी तथ्याङ्कअनुसार साउनयता काठमाडौंबाट छ सय ३२ जना, भक्तपुरबाट एक सय ४८ जना र ललितपुरबाट २६ जना गरी आठ सय छ जना जुवाडेलाई पक्राउ गरी जुवा ऐनमा मुद्दा चलाइएको छ । प्रहरीले उनीहरुबाट एक करोडभन्दा बढी रकम बरामद गरेको छ ।
प्रहरीले काठमाडौंका जुवाखालबाट ८४ लाख ८१ हजार २१ रुपैयाँ बरामद गरेको छ । त्यसैगरी भक्तपुरबाट १३ लाख ८५ हजार तीन सय ९६ रुपैयाँ तथा ललितपुरबाट एक लाख चार हजार चार सय ९० रुपैयाँ बरामद गरेको छ । प्रहरीले उपत्यकाका तीन ओटै जिल्लाबाट गरी ९० ओटा मुद्दा जुवा ऐनमा दायर गरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए ।
गत साउनयता उपत्यकामा जुवा कारबाहीमा प्रहरीले सक्रियता देखाएको एसएसपी ज्ञवालीको भनाइ छ ।
‘विगतमा वर्षभरि पनि यति जनालाई कारबाही हुन्थेन,’ क्यापिटल नेपालसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने, ‘आठ महिनामा आठ सय जुवाडे कारबाहीको दायरामा आउनु र उनीहरुबाट एक करोड रुपैयाँ बरामद हुनु ठूलो कुरा हो ।’
‘पहिला प्रहरीले आफै सूचना बटुलेर जुवाखालमा छापा हान्ने गरेको थियो, तर अहिले नागरिक आफै जुवाखालका बारेमा सूचना दिन्छन् । त्यसैले पनि प्रहरीलाई कारबाही गर्न सहज भएको छ,’ प्रवक्ता ज्ञवालीले भने ।
मोबाइल मिनी क्यासिनोको काइदा उस्तै
प्रहरीले उपत्यकामा भएका जुवाखालमाथि गरिने कारबाहीलाई तीव्रता दिन थालेपछि जुवा खेलाउनेहरुले पनि विभिन्न जुक्ती लगाउन थालेका छन् ।
केही समयअघि काठमाडौं प्रहरीले ज्ञानेश्वरमा फ्ल्याटै भाडामा लिएर जुवा खेलाउने मारवाडी समुदायका केही व्यक्ति पक्राउ गर्यो । त्यसको केही दिन नपुग्दै फेरि कमलपोखरीको एक होटलका कोठा भाडामा लिएर जुवा खेलाउने केही व्यक्तिलाई पक्राउ गर्यो ।
स्थाईरुपमा खेलाउने र गेस्ट हाउसमा चलाइने जुवाखालमा प्रहरीले कारबाही बढाएपछि मोबाइल जुवा सुरु भएको स्रोत बताउँछ ।
‘उपत्यकामा जुवा खेलाउने केही प्रोफेसनल समूह छन्, जसले हप्ता दस दिनको अन्तरालमा मान्छे बटुल्ने, होटल तथा पार्टी प्यालेस भाडामा लिने अनि जुवा लेखाउँदै हिँड्ने गर्छन्,’ स्रोतले भन्यो ।
विगतमा मोबाइल जुवाखालमा प्रहरीले छापा मार्दा होटलका कोठाहरु बर्थडे पार्टीको बहानामा बुक गर्ने अनि जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उपत्यकामा केही ठूला जुवाखाल र केही मोबाइल जुवाखाल छन् भन्ने सूचना आएको र प्रहरीले त्यसमा निगरानी बढाएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।