नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा व्यावसायिक भेटवार्ता सम्पन्न भएको छ । ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि नेपाल आएको ६ सदस्यीय प्रतिनिधिमण्डललाई महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच स्वागत गरे ।
वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराए । नेपालमा स्थानीय एवं प्रादेशिक निर्वाचन सम्पन्न भइसकेको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष गोल्छाले अव मुलुकमा राजनीतिक स्थिरता हुनुका साथै लगानीको वातावरण अझ प्रभावकारी हुने बताए ।
नेपालमा यस अघि पनि धेरै चिनियाँ कम्पनीहरूको लगानी रहेको र नेपाल एक व्यावसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भइसकेको उदाहरणहरू सहित प्रष्ट पारे ।
महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, विभिन्न वस्तुगत क्षेत्रका प्रतिनिधि एवं व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपाल र चीनका लगानीकर्ताहरू, रियल स्टेट डेभलपर्स, कृषि व्यवसायिहरू, सौर्य उर्जा एवं पूर्वाधार निमार्णसँग सम्बन्धित व्यावसायिहरूको भेटवार्ता (बी टु बी मिटिङ)ले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिक रूपमा अझ बढी प्रगाढ बनाउने विश्वास रहेको बताए ।
महावाणिज्यदूत भट्टराईले नेपाल लगानीको लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेहरूले सफलता हासिल गर्न सक्ने धारणा राखे । महावाणिज्यदूत भट्टराईले नेपाली पनि चीनमा आफ्नो व्यापार÷व्यवसाय विस्तार गर्न ईच्छुक रहेको समेत जानकारी गराए ।