ग्रामीण कृषि सडक सञ्चालनः स्थानीयवासी हर्षित

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासी खुसी भएका छन् ।

धनकुटाको लेगुवाघाट हुँदै सङ्खुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित भएका छन् ।

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासी खुसी भएका छन् । परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत १६ करोड ८२ लाख रुपैयाँको लागतमा निर्माणाधीन सडकको नालीबाहेक माटो कटिङ, टेवापर्खाल, मोडसुधार, ग्राभेललगायत अन्य स्ट्रक्चरको ९५ प्रतिशत काम सम्पन्न भएसँगै स्थानीयवासीले यातायात सञ्चालन गर्न थालेको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि धनकुटाकाको महालक्ष्मी नगरपालिकाभित्र पर्ने चानुवा, डाँडागाउँ, जितपुर, मारेक कटहरे, लेगुवालगायत सङ्खुवासभा जिल्लाका विभिन्न गाउँपालिकाका बासिन्दालाई कृषि उपज बजार लैजाने एवम् यातायात सेवा सहज भएको स्थानीयवासी लेखनाथ पौडेलले बताए । ग्रामीण क्षेत्रमा उत्पादन हुने अदुवा, अलैँची, दूध, तरकारी एवम् खाद्यन्न बाली सङ्खुवासभाको मुढे शनिश्चरे र धनकुटाको लेगुवाबजार हँुदै बाहिर निकासी सहज बनेको पौडेलको भनाइ छ । सवारी साधन सञ्चालन भएसँगै धनकुटा, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गममा रहेको पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले गुराँस अवलोकन गर्न एवम् मध्य पहाडी लोकमार्गमा जोड्ने यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको स्थानीयवासी बताउँछन् ।

सङ्खुवासभाबाट धनकुटाका उत्तरी क्षेत्र र भोजपुर जिल्ला दक्षिणी भेगतर्फ जान छोटो दूरीको सडक उपयोगी एवम् सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।

रासस