कर्णाली नदीमा पक्की पुल : यात्रा गर्न सहज

मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ ।

पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा सहज हुने भएको छ ।

मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सुरेन्द्र थारले जानकारी दिए । २०६६ सालबाट निर्माण कार्य थालिएको उक्त पुल साढे २२ करोडको लागतमा निर्माण सम्पन्न भएको थारले बताए ।

पक्की पुल बनेपछि स्थानीयवासी निकै खुसी भएका छन् । ‘नदी वारपार गर्न ‘फेरी’को साहारा लिएर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो पक्की पुलले गाडी मोटरलाई मात्र हैन हामीलाई पनि आवत जावतमा सजिलो भएको छ’, स्थानीयवासी मीना नेपालीले खुसी व्यक्त गरिन् । अछामको बयाला गाविस घर भएकी मीनाले नेपालगन्ज, काठमाडाँै जाने क्रममा कयौँ पटक डुँगाको कठिन यात्रा गरेको सुनाइन् । ‘अब जोखिमको यात्रा गर्नु पर्दैन’, खुसी हुँदै उनले भनिन् ।

जोखिमपूर्ण यात्रामा नदी तर्ने क्रममा डुँगा पल्टिएर कयाैं मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौँ आफन्तका खुसी खोसेको थियो कर्णालीले । स्थानीयवासी धनबहादुर बोहरा भने पक्की पुल बनेसँगै अब मालसामान आपूर्ति गर्न मात्र हैन स्थानीयवासीले उत्पादन गरेको तरकारीले पनि बजार पाउनेमा ढुक्क छन् ।

सङ्घसंस्थाले तरकारी र फलफूल खेती गर्न सिकायो तालिम लियौँ तर बजार नहुँदा स्थानीयवासीले आफूलाई खान पुग्ने गरी मात्र उत्पादन गर्ने गरेको उनले सुनाए । २०६४ सालबाट निर्माण कार्य थालिएको लोकमार्गले पूर्वी नेपालको नुवाकोटदेखि पश्चिम नेपालको बैतडीलाई जोड्नेछ । कुल एक हजार ७ सय ८६ किलोमिटर लम्बाइ रहेको पुष्पलाल (मध्य पहाडी) लोकमार्गले मध्य नेपालका २५ जिल्लाका २ सय १५ बस्तीलाई जोडेको छ । यो आयोजना निर्माणपछि एक करोड जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।

रासस