ढुकुटीका नाममा ठगेको पैसाले घरघडेरीदेखि गाडीसम्म

तीन वर्ष मलेसिया र २ वर्ष दुबई बसेर नेपाल फर्केका धितालको धन्दा नै एकल महिला र विदेशमा श्रीमान् भएका महिलालाई ठूलो रकमको आस देखाउँदै ढुकुटी ग्याङमा भित्र्याउने, सुरुमा केही फाइदा भए जस्तो देखाउन बढी रकम दिने, उनीहरुबाट हस्ताक्षर गरेका खाली चेक लिने र पछि विभिन्न खालका धम्की दिँदै रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं । श्रीमान् विदेश भएका र एकल महिलालाई ढुकुटी खेलाएर करोडाैं रुपैयाँ ठगी गर्ने र तिनै महिलालाई यौनशोषण गर्ने दाङका महेश भन्ने भुवन धिताललाई प्रहरीले पक्राउ गरेको छ ।

तीन वर्ष मलेसिया र २ वर्ष दुबई बसेर नेपाल फर्केका धितालको धन्दा नै एकल महिला र विदेशमा श्रीमान् भएका महिलालाई ठूलो रकमको आस देखाउँदै ढुकुटी ग्याङमा भित्र्याउने, सुरुमा केही फाइदा भए जस्तो देखाउन बढी रकम दिने, उनीहरुबाट हस्ताक्षर गरेका खाली चेक लिने र पछि विभिन्न खालका धम्की दिँदै रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

धितालले रकम लिएपछि विदेशमा भएका श्रीमान्लाई भनिदिने र पत्रिकामा नाम निकालिदिने भन्दै यौनशोषणसमेत गरेको पाइएको छ । धितालले दजनांै महिलालाई ठगी गरेपछि प्रहरीमा उजुरी परेको थियो । धेरै महिलाको करोडौं रकम धम्काएर लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले केही महिलालाई यौनशोषणसमेत गरेको प्रहरीमा उजुरी परेको छ ।

प्रहरीले धितालबाट विभिन्न पीडित महिलाबाट गराएको डेढ करोडभन्दा बढीको तमसुक, डेढ करोडभन्दा बढीका विभिन्न बैङ्कका चेकसमेत बरामद गरेको छ । त्यसैगरी एक गाडी र एक मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

यसरी गर्थे ठगी
प्रहरीका अनुसार धितालले विदेशमा श्रीमान् भएका महिला र एकल महिलालाई छान्थे । उनीहरुलाई ढुकुटी खेलेमा मालामाल हुने भन्दै सुरुका दिनमा लोभ देखाउँथे । त्यसपछि सुरुमा कमकम गर्दै उनले ढुकुटीमा समूहमा महिलालाई भित्र्याउँथे ।

सुरुका दिनमा धितालले महिलालाई हालेको भन्दा बढी रकम दिन्थे । त्यसपछि उनी पछिल्लो मितिको चेकमा हस्ताक्षर गराएर खाली चेक लिन्थे । त्यसपछि उनी बिस्तारै महिलालाई उक्त कुरा पत्रिकामा ल्याइदिने, श्रीमान्लाई भनिदिने जस्ता धम्की दिएर मनलाग्दी रकम लिन्थे । रकम लिएपछि पनि धितालले महिलामाथि यौनशोषण गर्थे । र उक्त कुरा बाहिर ल्याए ज्यान लिने धम्कीसमेत दिन्थे ।