लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ ।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महिनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतया प्रतिमहिना १४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।
तीव्ररूपमा बढिरहेको बसाइँसराइ, चेतनाको कमी र बेरोजगारीका कारण यस्तो समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरले बताए । “प्रहरीले लागुऔषधमा सक्रियता बढाउँदा कारोबारी र प्रयोगकर्ता देखिन छाडेका छन्”, उनले भने, “गलत धन्दाले ल्याउने परिणाम बुझ्दै गएपछि अहिले मान्छे असल पेशा व्यवसायको खोजी गर्न थालेका छन् ।”
उनका अनुसार लागुऔषधअन्तर्गत ब्राउनसुगर ९३ ग्राम ५१० मिलिग्राम, चरेश छ किलो ३०४ ग्राम ७० मिलिग्राम, गाँजा १८१ ग्राम ५०० मिलिग्राम, नाइट्रोजन १५७ बरामद र गत फागुन ११ गते लेकबेँसी नगरपालिका–८ लामीडाँडा सुर्खेतमा एक लाख अवैध अफिमका बोट नष्ट गरिएको छ । रासस