‘पोेखराः हिजो र आज’ लोकार्पित

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पुस्तक लोकार्पणका क्रममा पुस्तकले नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डको अध्ययनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै सही समयमा सही पुस्तक निकालेर शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएको बताए । 

पाेखरा । साहित्यकार एवम् फोटो पत्रकार विश्वरत्न शाक्यले चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका तस्वीरको सँगालो ‘पोखराः हिजो र आज’ पुस्तक आज लोकार्पण गरिएको छ । पुस्तकमा झण्डै चार सय तस्वीर छन् ।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पुस्तक लोकार्पणका क्रममा पुस्तकले नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डको अध्ययनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै सही समयमा सही पुस्तक निकालेर शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएको बताए ।

पोखरा महानगरपालिकाका कावा प्रमुख मञ्जु गुरुङले महानगरले विदेशी पाहुनालाई उपहारका रुपमा सो पुस्तक प्रदान गर्ने बताइन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले तस्वीरबाट तत्कालीन पोखराको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै पक्षको इतिहास अध्ययन गर्न सहज हुने बताए ।

शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न र बुझ्न चाहनेहरुका लागि एउटा सशक्त पुस्तक आएको बताए । लेखक शाक्यले नौ वर्षको अथक प्रयास र विभिन्न चुनौती सामना गरेर पुस्तक तयार गरिएको र त्यसमा २० प्रतिशत तस्वीर अरुबाट लिइएको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हजार शब्दमा उतार्न नसकिने कुरा एउटा तस्वीरले स्पष्ट पार्छ भन्दै सो पुस्तकमा सिङ्गो पोखराको इतिहास र वर्तमान केलाउन सकिने बताए ।

स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारितामा तस्वीर एउटा सशक्त सूचनाको माध्यम भएको बताए । महासङ्घका जिल्ला अध्यक्ष कृष्ण थापा, उपाध्यक्ष शान्ति राणालगायतले इतिहासको खोजी गरेर तथ्यको सङ्कलनका साथ बाहिर ल्याइएको पुस्तकले सबैका लागि साझा महत्त्व राख्ने विचार राखेका थिए । रासस