निरन्तर सफाइ अभियानमा ९२ वर्षीय मङ्गली जलारी

७० जना सदस्यको समूहमा छिन् ९२ वर्षीया मङ्गली जलारी । हातमा पञ्जा, सफाइ अभियानको टी–सर्टमा अभियानमा जुट्छिन् उनी । कत्ति अल्छी लाग्दैन उनलाई । हँसिलो अनुहारमा भटाभट फोहोर सङ्कलन गर्ने सदस्यमध्ये अग्रपंक्तिमा उनलाई देख्न सकिन्छ । उनको जाँगर देखेर सबै छक्क पर्छन् ।

पोखरा । पोखरा सुन्दर छ, सफा छ । घुम्न आउनेहरु भन्ने गर्छन् । सहर सफा राख्न र सुन्दरता जोगाउनुपर्छ भनेर हरेक हप्ता हातमा कुचो बोकेर सफा गर्न सडकमा निस्किने अभियानकर्मीको पनि कमी छैन पोखरामा ।

‘सके सफा गरौं, नसके फोहोर नगरौं’, ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम् सेवा’ भन्ने नाराका साथ सडकमा निस्किन्छन् र भटाभट फोहोर सङ्कलन गर्न थाल्छन् सामाजिक भावना भएका अभियानकर्मीहरु ।

यो अभियान विगत केही वर्षदेखि पोखरामा निरन्तर चलेको छ । फेवाताल सफाइ अभियानमा सक्रिय छ, पोखरा लेकसाइडस्थित खहरे आमा समूह । ७० जना सदस्यको समूहमा छिन् ९२ वर्षीया मङ्गली जलारी । हातमा पञ्जा, सफाइ अभियानको टी–सर्टमा अभियानमा जुट्छिन् उनी । कत्ति अल्छी लाग्दैन उनलाई । हँसिलो अनुहारमा भटाभट फोहोर सङ्कलन गर्ने सदस्यमध्ये अग्रपंक्तिमा उनलाई देख्न सकिन्छ । उनको जाँगर देखेर सबै छक्क पर्छन् ।

समूहकी अध्यक्ष मैया थापा भन्छिन्, ‘मङ्गला आमा यस संस्थाकी संस्थापक सदस्य हुनुहुन्छ । हामीले सफाइ अभियान सुरु गरेदेखि उनी निरन्तर सहभागी हुँदै आउनु भएको छ ।’ २०७० सालमा स्थापित योण् समूह विगत २ वर्षदेखि हप्तैपिच्छे सफाइ अभियानमा जुटेको छ । ११० औं हप्ता पुगिसकेको छ ।

थापा भन्छिन्, ‘उहाँ पनि निरन्तर हामीसँग अभियानमा हुनुहुन्छ । पानी, झरी, कुनै चाड पर्व भनेर अभियान रोकिएको छैन र उहाँ पनि कहिल्यै छुटाउनु हुन्न ।’ ‘हामीले अब हजुर घर बस्नु हामी गर्छौं भन्दा मान्नुहुन्न । सकेसम्म हात खुट्टा बाँधेर बस्नु हुन्न, मैले जति गर्न सक्छु त्यति गर्छु भन्दै आउनुहुन्छ ।’ थापाले भनिन् ।

जलारी भन्छिन्, ‘यो सफा सहर फोहोर हुँदै गएको छ, जति सफा गर्यो उति फोहोर बढेको छ । म सक्नेबेलासम्म सफाइ अभियानमा जान्छु ।’

अञ्जुलीमा पानी भरेर खाएको यो फेवाताल आज दुर्गन्धित भइरहँदा उनलाई नमज्जा लागेको छ । उनी भन्छिन्, ‘ताल बाराही मन्दिर छ, यस्तो पवित्र ठाउँमा पनि मानिस ढल मिसाएर पाप गर्छन् ।’

आजकालका मानिस पढेलेखेका भए पनि संस्कार, सभ्यता अनि नैतिकता बिर्सँदै गएको उनको ठम्याइ छ । ‘घरको छतबाट सडकमा फोहोर फाल्छन् । पानी आउँदा सेफ्टीक ट्याङ्की खोलेर ढलमा मिसाउँछन् । त्यही ढल फेवातालमा जान्छ,’ उनले आक्रोश पोखिन्, ‘पढे लेखेका आधुनिक मानिसलाई पनि यस्तो कुरा सिकाउनु पर्ने हो र ?

जलारीले दुःख मान्दै भनिन्, ‘कुनै दिन त बुझ्लान, सफा गर्नु भनेको अरुका लागि होइन, आफ्नै लागि हो भनेर, म भन्छु ‘सके सफा गरौं नसके फोहोर नगरौं पोखरालाई सफा र हराभरा राखौं ।’

पोखरा बृहत् सफाइ अभियानका अभियानकर्मी रामबहादुर पौडेलले पनि जलारीको सक्रियताले अभियानमा लाग्नेहरुलाई ऊर्जा मिल्ने गरेको बताउँछन् । ‘यो उमेरमा पनि उहाँ सरसफाइमा सक्रिय हुनुुहुन्छ । आमा हामी सबैकी एक आदर्श अभिभावक हुनुहुन्छ, स्वच्छ र हराभरा पोखराका लागि उहाँको सक्रियताले सकारात्मक सन्देश प्रवाह गरेको छ,’ पौडेलले भने ।

बृहत् पोखरा सफाइ अभियानले पनि सोही नाराका साथ १४८ औं हप्ताको सफाइ अभियान पूरा गरेको छ । पोखरा महानगरपालिकाका ३३ ओटै वडाले अभियानलाई निरन्तरता दिँदै आएको छ । यो अभियानमा आजसम्म झन्डै एक लाख ६१ हजार व्यक्तिले सहभागिता जनाइसकेको पौडेलको भनाइ छ ।

सङ्कलित फोहोरको व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ भने खहरे आमा समूहबाट सङ्कलित फोहोर व्यवस्थापनलाई ग्रीन पार्कका अध्यक्ष सुजन गुरुङले सहयोग गरेका छन् । विभिन्न सङ्घ सस्था एवम् सहयोगी मनहरुले फोहोर सङ्कलनका लागि आवश्यक सामग्री प्रदान गर्दै आएका छन् ।