बारा,पर्सा हावाहुरी अपडेट : घरबार विहीनलाई पहिलो चरणको राहत बाडियो

काठमाडौं । आईतबार साँझ बारा र पर्सामा भएको बिनाशकारी हावाहुरीबाट घरवारबिहीन भएका स्थानीयलाई सरकारले तत्काल आवश्यक पर्ने राहत सामाग्री वितरण गरेको छ ।

गृहमन्त्रालयले हावाहुरी पीडितलाई तत्काल लगाउने पाइन्टदेखि रात काट्ने त्रिपालसम्मका राहत सामाग्री वितरण गरेको हो ।

गृहमन्त्रालयका अनुसार सोमबार दिउसो हावाहुरीबाट घर भत्केकाहरुलाई रात काट्न तत्कालका लागि ४ सय ६४ थान त्रिपाल वितरण गरिएको छ ।
त्यसैगरी लगाउने लुगा नभएका ४ हजार १ सय ३८ जनालाई लगाउने लुगा पाईन्ट र सट अनि आवश्यक कपडा बितरण गरिएको छ, भने उनीहरुका लागी तत्काल ३ ट्रक खाद्यान्न वितरण पनि वितरण गरिएको छ ।

वितरण गरिएको सबै सामाग्री गृहमन्त्रालयले सोमबार नेपाली सेनाको हेलिकप्टर र सुरक्षाकर्मीको ट्कबाट प्रकोप क्षेत्रमा पुर्याएको हो ।

मानविय क्षति कति ?

गृहमन्त्रालयका अनुसार सोमबार बेलुकासम्म हावा हुरीमा परि ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । त्यसमा २६ जना बारा र एक जना पर्सामा गरी २७ पुगेको गृहले जानकारी दिएको छ । गृहमन्त्रालयका अनुसार ६ सय ६८ जना घाईते भएका थिए । घाईते मध्यमा २ सय ८४ जना उपचारपछि घर फर्केका छन् भने, ३ सय ७५ जनाको बारा र पर्साका अस्पतालमा उपचार भईरहेको छ ।

त्यसैगरी घाईते मध्ये गम्भीर भएका ९ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ, उनीहरुको काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको छ ।