प्रहरीका अनुसार तेजकरणले गाडी बेच्नेलाई मात्र नभएर गाडी किन्नेलाई पनि त्यसैगरी ठगी गरेको खुलेको छ । राम्रा गाडी सस्तोमा दिने भनी गाडी दिने तर नामसारी नगर्ने गरेको पीडितको उजुरी खुलेको छ ।
काठमाडौं । कुनै जमानामा नेपाल प्रहरीलाई नै गाडी दान दिने तेज एन्ड करण इन्टरप्राइजेजको डरलाग्दो ठगी धन्दा बाहिरिएको छ । तेज एन्ड करण रिकन्डिसनका सञ्चालक तेजकरण जैनले विभिन्न व्यक्तिका पुराना गाडी महँगोमा किन्ने र रकम भुक्तानी नदिने गरेपछि पीडितहरु प्रहरीमा धाउन थालेका छन् ।
जैनले विभिन्न व्यक्तिका गाडी महँगोमा आफ्नो कम्पनीका नाममा ल्याउने र त्यसबापत केही रकम दिने अनि गाडी अर्को व्यक्तिलाई दिन्छु भन्दै रकम लिने तर गाडी नदिने गरेपछि पीडितले प्रहरीमा उजुरी गरेका हुन् ।
दर्जनौं व्यक्तिलाई त्यसैगरी ठगी गरेपछि प्रहरीले जैनलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । जैनले २० लाख पर्ने गाडी २५ लाखमा किन्ने र १९ लाखभन्दा थोरैमा बेच्ने अनि रकम गाडीधनीलाई नदिएर आफैं चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार तेजकरणले गाडी बेच्नेलाई मात्र नभएर गाडी किन्नेलाई पनि त्यसैगरी ठगी गरेको खुलेको छ । राम्रा गाडी सस्तोमा दिने भनी गाडी दिने तर नामसारी नगर्ने गरेको पीडितको उजुरी खुलेको छ ।
जैनले राजेन्द्र दङ्गालबाट १० लाख ५० हजार, प्रह्लादप्रसाद खकुरेलबाट २० लाख, मिङ्मा तेन्जी शेर्पाबाट २० लाख, जुद्धबहादुर गुरुङबाट १० लाख, प्रदीपकुमार अग्रवालबाट १० लाख गरी ८३ लाख बढी ठगी गरेको प्रहरीमा उजुरी छ ।
जैनले यसैगरी अन्य धेरै व्यक्तिलाई ठगी गरेको मौखिक उजुरी आएको प्रहरीले जानकारी दिएको छ । ‘जैनले लामो समयदेखि यसैगरी धेरै व्यक्तिलाई ठगेको उजुरी छ,’ काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले क्यापिटल नेपाललाई भने, ‘यसअघि पनि चेक बाउन्समा पक्राउ परेका थिए ।’
उनका अनुसार जैनलाई तीन साताअघि पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान थालिएको छ ।
यसरी गर्थे ठगी
तेजकरण कुनै जमानाका पुराना गाडीको कारोबार गर्ने नामी व्यक्ति हुन् । पुराना गाडीलाई राम्रो मूल्य दिने भन्दै उनी ग्राहक तान्छन् । २० लाख पर्ने गाडीलाई २५ लाखमा किन्ने र त्यही गाडी १८–१९ लाखमा बेच्ने गर्छन् ।
उनी गाडी किन्दा केही रकम बैना दिन्छन् अनि त्यही गाडी नामसारी नगरी अर्को व्यक्तिलाई देखाएर रकम लिन्छन् । रकम दिनेलाई नामसारी भने गर्दैनन् । उनले त्यसैगरी ५ जनालाई ८३ लाख ठगी गरेको प्रहरीमा उजुरी छ । धेरै जनालाई उनको बारेमा जानकारी नभएको र बिस्तारै उजुरी गर्नेहरु बढ्न थालको प्रहरीले जानकारी दिएको छ ।