राहत वितरण तथा सङ्कलनमा विगतमा भएको भ्रष्टाचारलाई ध्यानमा राखी सरकारले यस पटक एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निणर्य गरेको थियो । तर, सरकारी निर्णयको प्रवाह नगरी बारा/पर्सामा आफूखुसी राहत वितरण थालिएको छ ।
काठमाडौं । आइतबार बारा/पर्सामा आएको आँधीबेहरीबाट पीडितलाई विभिन्न सङ्घसंस्था र व्यक्तिले आफूखुसी राहत वितरण गर्न थालेका छन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भने पनि सङ्घसंस्था र व्यक्तिहरुले सरकारी आग्रहलाई बेवास्ता गर्दै आफूखुसी राहत दिन थालेका हुन् ।
उनीहरुले आफूखुसी सङ्कलन गर्ने र आफूखुसी नै बाँड्ने प्रक्रियामा सरिक भएका छन् । यसो गर्दा राहत पाउनुपर्नेले नपाउने र नपाउनुपर्ने व्यक्तिले पाउने साथै कुनै ठाउँमा एक पटक पनि राहत नपुग्ने र कुनै ठाउँमा दोहोर्याई तेहेर्याई जाने हुन्छ ।
यस्तो स्थिति २०७२ वैशाखमा गएको भूकम्पपछिको राहत वितरणमा देखिएको थियो । अहिले पनि त्यही बेलाको झल्को दिनेगरी राहत बाँड्दै सरकारी योजनालाई लोप्पा खुवाउँदै विभिन्न व्यक्ति तथा समूह आफूखुसी लागेका छन् ।
राहत वितरण तथा सङ्कलनमा विगतमा भएको भ्रष्टाचारलाई ध्यानमा राखी सरकारले यस पटक एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निणर्य गरेको थियो । तर, सरकारी निर्णयको प्रवाह नगरी बारा/पर्सामा आफूखुसी राहत वितरण थालिएको छ ।
आफूखुसी राहत वितरण गर्दा प्रभावकारी नहुने भन्दै सोमबार मात्र गृहमन्त्रालयले प्रदेश र स्थानीय सरकारको निगरानीमा राहत वितरण गरिने योजना सार्वजनिक गरेको थियो ।
सोमबार बिहान केन्द्रीय विपद् व्यवस्थापन समितिको बैठक बसेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भन्दै केन्द्रले प्रदेश सरकारलाई आवश्यक सामग्री वितरणका लागि पठाएको थियो ।
तर, मङ्गलबार एनआरएनए, विभिन्न सङ्घसस्था र व्यक्तिले सरकारको नीतिविपरीत राहत वितरण गरेका छन् ।
प्रकोप क्षेत्रमा आफूखुसी राहत वितरण भएको आफूलाई जानकारी नभएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
क्यापिटल नेपालसँग कुरा गर्दै प्रवक्ता सुवेदीले भने, ‘सरकारले एकद्वार प्रणालीमार्फत् राहत दिने निर्णय भएको छ, त्यहीअनुसार प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले सङ्कलित राहत दिने छन्, र वितरण पनि गरिरहेका छन् ।’