आर्थिक वृद्धि ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण

यो वर्ष कृषि क्षेत्रको विस्तार ४.५ प्रतिशत पुग्न सक्ने प्रक्षेपण गरिएको छ । मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्ने अनुमान एडीबीको छ । सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ६.२ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । एडीबीले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृष्यले आर्थिक वृद्धि स्थिर रहने देखाएको हो । आगामी वर्ष नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने अनुमान एडीबीको छ ।

यो वर्ष कृषि क्षेत्रको विस्तार ४.५ प्रतिशत पुग्न सक्ने प्रक्षेपण गरिएको छ । मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्ने अनुमान एडीबीको छ । सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना छ । प्रतिवेदनले भारतमा मुद्रास्फीति केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ सङ्घीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने कुरालाई प्रतिबिम्बित गर्दै मूल्यवृद्धि ४.२ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुग्ने अनुमान गरेको छ ।

उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको छ । सबल राजस्व वृद्धिका कारण चालू आवको पहिलो ६ महिनामा बजेट बचतमा छ । आर्थिक वर्षको पहिलो ७ महिनामा पुँजीगत खर्च बढे पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशत मात्र छ । जसले गर्दा फेरि पनि आयोजनाहरुको गुणस्तरमा नजर अन्दाज हुने र आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति हावी हुने एडीबीले औंल्याएको छ ।

बढ्दो व्यापार तथा चालू खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेको छ । गत माघसम्मको तथ्याङ्कले चालू खाता घाटा १.५ अर्ब अमेरिकी डलर पुगेको देखाएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिको चालू खाता घाटा १.४ अर्ब अमेरिकी डलर थियो । विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिर रहे पनि पुँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले अघिल्लो वर्षको कुल गार्हस्थ्य उत्पादन ८.२ प्रतिशतबाट बढेर चालू खाता घाटा ९.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

एडीबीका नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भने, ‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ, जसलाई भूकम्पपछिको तीव्र पुनर्निर्माण एवम् प्रदेश र स्थानीय सरकारलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पु¥याएको छ ।’