दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आधार प्रस्ट हुनुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौंमा सुरु भएको विकास परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधारहरुका बारेमा छलफल जरुरी रहेको बताए ।

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदरको आधार प्रस्ट हुनुपर्ने बताएका छन् । काठमाडौंमा सुरु भएको विकास परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधारहरुका बारेमा छलफल जरुरी रहेको बताए । समृद्ध नेपालको परिकल्पना पूरा गर्नका लागि नागरिकको आधारभुत आवश्यकताका साथै विद्युत्, पानी भण्डारणको क्षमता बढाउने बारेमा गम्भीर छलफल हुनु पर्ने उनको जोड थियो ।

उनले आयात प्रतिस्थापन गरी स्रोतको लाभ लिन नसकेसम्म नेपालको ब्यापार घाटा कम नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । बुधबारदेखि सुरु भएको विकास परिषदको बैठक दुई दिनसम्म चल्ने छ । बैठकमा चौधौं योजना दुई वर्षको समीक्षा र पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुनेछ ।

बैठकमा पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदाउपर विभिन्न सत्रमा सैद्धान्तिक छलफल हुनेछ । समष्टिगत आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, वन तथा प्राकृतिक स्रोत क्षेत्र, लोकतन्त्र र शुसासन र अन्तरसम्वन्धित क्षेत्रका ६ ओटा फरक फरक सत्रमा छलफल हुनेछ ।

दोस्रो दिन, क्षेत्रगत छलफलबाट प्राप्त राय सुझाव प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।