सहकारीको संख्या अहिले अत्यधिक छ। अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडि बढेको छ ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छिन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभागलगायतका संघसंस्थाहरुले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले सहकारीमार्फत नागरिकको जीवनस्तर सुधार कार्यका लागि लाग्न सहकारीकर्मीलाई आग्रह गरेकी हुन् ।
‘सहकारीमार्फत हामीले मान्छेको जीवनस्तर सुधार्ने हो तपाईहरु त्यसतर्फ लाग्नुसु, मन्त्री अर्यालले भनिन्, ‘सहकारीमा आवद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायीक बनाउनुस्। उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस् ।’
सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताइन् । मन्त्रालय अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको बताउँदै उनले अहिले सहकारीको संख्या आवश्यकताभन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको बताइन् ।
उनले अहिले भएका सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिनेसमेत बताइन् । उनले भनिन्, ‘सहकारीको संख्या अहिले अत्यधिक छ। यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौँ। अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडि बढेको छ ।’
मन्त्री अर्यालले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने बताइन् । सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने उनले बताएकी छिन् । मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम सुरु गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने बताइन् । उनले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिनेसमेत बताइन् । एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आभार भनेको सहकारी नै भएको बताइन् ।