नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताए ।
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाई अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताए ।
प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहोर फाल्ने सुनिल हेयर कटिङ सैलुनका सुनिल ठाकुर र अर्जुनधारा–८ शनिश्चरे बजारको निशा मोबाइल सेन्टरलाई फोहर उपहार दिएको हो । ‘फोहर फाल्नका लागि डस्टबिन राखिदिए पनि जथाभावी फोहर फाल्ने क्रम रोकिएको छैन ।’ संयोजक पोखरेलले भने, ‘जथाभावी फोहर गर्नेलाई फोहर नै उपहार दिएका छौँ, यसले अन्य फोहर गर्ने मानिसको व्यवहारमा परिवर्तन आउने अपेक्षा छ ।’ अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले जथाभावी फोहर गर्नेलाई कारवाही गरिने बताए ।
फोहरमैला व्यवस्था ऐन, २०६८ मा व्यवस्था भएअनुसार स्थानीय सरकारको अग्रसरतामा सरसफाई अभियान सञ्चालन गरिएको अर्का अभियानकर्मी विष्णु आचार्यले जानकारी दिए । अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा अभियानले ३२औँ साता सम्पन्न गरिसकेको छ । यसक्रममा अर्जुनधारा मन्दिर, दुर्गा मन्दिर, शनिश्चरे बजारक्षेत्र, सालबारी पार्क, कप्तानबारी र ७ नं वडा कार्यालय परिसरमा सरसफाइ गरिसकेको छ । विशेषगरी अर्जुनधारा ६, ७ र ८ नं वडामा यो अभियान केन्द्रित छ । रासस