गएराति करिब १२ बजेतिर लागेको आगोले जलेर सोही घरमा डेरा गरी बस्ने ओखल्ढुङ्गा पोखरेका ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित धर्म महर्जनको घरमा अगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराति करिब १२ बजेतिर लागेको आगोले जलेर सोही घरमा डेरा गरी बस्ने ओखल्ढुङ्गा पोखरेका ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अगलागीबाट सोही घरमा डेरा गरी बस्ने बर्दिया राजापुरका विवेक शाही र उनकी श्रीमति गंगा गम्भीर घाइते भएका छन् । उनीहरुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । अर्का दुई घाइते चन्द्रमाया राई र बिना बस्नेतको उपचारपछि डिस्चार्ज भइसकेको काठमाडौं प्रहरी प्रवक्ता होमिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार मृतक थापा शंकर होटलमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए ।