राष्ट्रपति सि जिनपिङले बिहीबार अमेरिकी समकक्षी ट्रम्पलाई सन्देशमार्फत दुई मुलुकको व्यापार गतिरोधको वार्तामा ठूलो प्रगति हासिल भएको बताएका हुन् ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ताका जटिल बुँदाहरुमा सहमति देखिएको बताएका छन् । उनले आगामी चार हप्तामा व्यापार वार्तामा सम्झौता हुनसक्ने संकेत दिएका छन् यद्यपी केही वाधाहरु रहीरहने बताएका छन् ।
चीनले पनि यस विषयमा सकरात्मक धारण व्यक्त गरेको छ । राष्ट्रपति सि जिनपिङले बिहीबार अमेरिकी समकक्षी ट्रम्पलाई सन्देशमार्फत दुई मुलुकको व्यापार गतिरोधको वार्तामा ठूलो प्रगति हासिल भएको बताएका हुन् । विश्व अर्थतन्त्रलाई असर पुर्याइरहेको दुई देशबीचको व्यापार युद्धलाई अन्त्य गर्न दुई मुलुकबीच गएको डिसेम्बरदेखि व्यापार वार्ता भइरहेको छ ।
चीनसँग व्यापार वार्तामा सहमति भएको खण्डमा समकक्षी सिसँग शिखर सम्मेलन आयोजना गर्ने पनि ट्रम्पले बताएका छन् । तर, यस विषयसँग जानकार रहेका बीबीसीका संवाददाता रोबिन ब्रान्ट भन्छन्, ‘दुबै पक्षबीच अझै पनि विवादित संकेतहरु देखा परिरहेका छन् ।’ उनी भन्छन्, ‘चिनियाँ भाइस प्रिमियर लिउ हिले चीन र अमेरिका आर्थिक तथा व्यापार सहमतिको टेक्स्टजस्तो महत्वपूर्ण विषयमा सहमतिमा पुगेको छ । तर, अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाजरको भनाइ भने अझ सतर्कपूर्ण सुनिन्छ ।
रिपोर्टको अनुसार दुई मुलुकहरुबीच अझै पनि केही व्यापार वार्ताको महत्वपूर्ण मुद्दाहरु बाँकी नै छन् ।