निजी क्षेत्रको हकहितका लागि क्रियाशील नेपाल उद्योग वाणिज्य महासङ्घ र सीएनआईलाई लक्ष्य गर्दै खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सीएनआई)को १६ औं साधारण सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई एक हुन आग्रह गरेका छन् । निजी क्षेत्रको हकहितका लागि क्रियाशील नेपाल उद्योग वाणिज्य महासङ्घ र सीएनआईलाई लक्ष्य गर्दै खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
सीएनआईको साधारण सभामा निजी क्षेत्रको अर्को साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि थिएनन् । महासङ्घ र सीएनआईबीच त्यति सौहार्दपूर्ण वातावरण पनि छैन । सायद खतिवडाले त्यसैलाई लक्ष्य गरेर निजी क्षेत्रलाई एक हुन आग्रह गरेका हुन सक्छन् ।
सीएनआईको कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । ‘निजी क्षेत्र एक ठाउँमा हुनुस्,’ उनले भने, ‘१५ औं योजनामा निजी क्षेत्रको भूमिका बढाएका छौं ।’ लगानीमैत्री कानुन बनेकाले सहरी पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रसँग सरकार सहकार्य गरेर काम गर्न उत्सुक रहेको बताए । समृद्धिको सपना पूरा गर्न सरकार ब्युँझिएको खतिवडाले बताए । ‘क्रमश विकासको गतिलाई अघि बढाउँदै समृद्धिको सपना पूरा गर्छौं,’ उनले भने ।
‘विकासका सपना देखेका छौं,’ उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गरेर पूरा गर्न चाहन्छौं ।’ निजी क्षेत्रसहित सहकारी र सार्वजनिक क्षेत्रलाई पनि सँगै अघि बढाउने खतिवडाले धारणा राखे । स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकार तत्पर रहेको खतिवडाले बताए ।