नेपाल उद्योग परिसङ्घ (सीएनआई)को १६ औं साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई आफूसँग भएको रकम निकाल्न आग्रह गरे । ‘अझै पनि कतिपयले पैसा निकाल्न सकेका छैनन्,’ ओलीले भने, ‘अब पैसा लुकाउनु पर्ने अवस्था छैन । पैसा निकालेर लगानी गर्नुहोस् ।’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि आफूसँग भएको पैसा झिक्न हिच्किचाउनु नपर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)को १६ औं साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई आफूसँग भएको रकम निकाल्न आग्रह गरे । ‘अझै पनि कतिपयले पैसा निकाल्न सकेका छैनन्,’ ओलीले भने, ‘अब पैसा लुकाउनु पर्ने अवस्था छैन । पैसा निकालेर लगानी गर्नुहोस् ।’
उनले पारदर्शी कारोबार गर्न अनुरोध गरे । उद्योगीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै कमाउनका लागि अनेक धन्दा गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘अदृष्य ढङ्गले ल्याएर लगानी गर्दा फेरि लुकाउन समस्या हुन्छ,’ उनले भने, ‘पारदर्शी ढङ्गले लगानी गरे कुनै समस्या छैन ।’
मुलुकमा लगानीका लागि सहज परिस्थिति तयार भएको भन्दै प्रधानमन्त्रीले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नरहेको बताए । ‘सरकार आर्थिक समृद्धिका लागि काम गरिरहेको छ,’ उनले भने, ‘मुलुक बनाउने यो अनुकूल वातावरण हो ।’ उनले व्यवसायीमाझ लगानीका लागि कुनै समस्या आए सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । ‘कानुनमा अप्ठ्यारो छ भने बदल्न सकिन्छ,’ ओलीले भने, ‘अनुकूल वातारण छ, लगानी गर्नुहोस् ।’
निजी क्षेत्रमा पनि केही समस्या रहेकाले त्यो प्रवृत्ति हटाउन आग्रह गरे । ‘नक्कली भ्याट बिल छापेर कर छल्न लाग्नु भएन,’ उनले भने, ‘जनताले भ्याट तिर्ने, व्यवसायीले कारोबार गर्दा नक्कली बिल बनाउनु भएन ।’ वर्तमान सरकारलाई जनताले अवसर दिएकाले सदुपयोग गर्न लागेको ओलीले बताए । ‘अहिले अरुलाई दोष लगाएर उम्किन पाइँदैन,’ उनले भने, ‘परिणाम दिनुपर्छ ।’