चरम लोडसेडिङबाट नाजायज फाइदा लिने समूह छटपटाइरहेका छन्– कुलमान घिसिङ

वित्तीय अवस्थामा सुधार र लोडसेडिङ अन्त्य गर्न हामी दिनरात खटिरह्यौं र लोडसेडिङ अन्त्य गर्न सफल पनि भयौं । अहिले कुनै पनि उद्योग र ग्राहकवर्गमा लोडसेडिङ भएको छैन । यति गर्दागर्दै पनि प्राविधिक समस्या रहेको भन्दै पनि आएका छौं ।

नेपाल विद्युत् प्राधिकरणसँग जोडिएर धेरै नकारात्मक अभिव्यक्ति आइरहेका छन् । काम गरेपछि त्यस्ता अभिव्यक्ति आइरहन्छन् । हाम्रा कर्मचारी डेडिकेट भएर लागिरहेका छन् र म पनि खटिरहेको छु । हामीले जिम्मेवारीपूर्वक नै काम गरिरहेका हुन्छौं । केही विषयमा गलत हिसाबले तोडमोड गर्दै विभिन्न प्रचार भइरहेको सर्वविदितै छ । यो विषयमा हामी पछि लागिरहने पक्षमा पनि थिएनौं । किनकि हामीलाई धेरै काम गर्नुछ । विद्युत् प्राधिकरणसँग जोडिएका पोलिसी लेबलका धेरै नै समस्या छन् । तिनलाई फुकाउनु पर्नेछ । त्यसका लागि दिनरात नभनी खटिरहेको छौं ।

मैले जिम्मेवारी सम्हालेपछि प्राधिकरणको अवस्था सुधार्ने प्रयास थालेका हौं । वित्तीय अवस्थामा सुधार र लोडसेडिङ अन्त्य गर्न हामी दिनरात खटिरह्यौं र लोडसेडिङ अन्त्य गर्न सफल पनि भयौं । अहिले कुनै पनि उद्योग र ग्राहकवर्गमा लोडसेडिङ भएको छैन । यति गर्दागर्दै पनि प्राविधिक समस्या रहेको भन्दै पनि आएका छौं ।

हामीले गुणस्तर र विश्वसनीय विद्युत् आपूर्तिका लागि निरन्तर काम गरिरहेका छौं । त्यसअनुरुप, अहिले दैनिक एउटा सबस्टेसन चार्ज गरिरहेका छौं । यस आर्थिक वर्षमा ५०/६० ओटा नयाँ सबस्टेसन चार्ज गरी ३ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोड्दैछौं । अहिले प्राधिकरणअन्तर्गतका त्रिशूली ३ ए, कुलेखानी जलविद्युत् आयोजना आउँदो असारभित्र सम्पन्न हुने छन् । लामो समयअघि निर्माण सुरु भएका आयोजनाहरु यस वर्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदैछन् । प्राधिकरणले थप आयोजनाहरु पनि निर्माण सुरु गरिरहेको छ । जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना जस्तै माथिल्लो अरुण, दूधकोसी, तामाकोसी पाँचौलगायतका आयोजना बनाउन लगानी व्यवस्थापन गरी काम अघि बढाउँदै छौं ।

विद्युत् उत्पादन, प्रसारण लाइन, वितरणलगायतका क्षेत्रमा हामीले अहोरात्र खटेर काम गरिरहेका छौं । सरकारले ४ वर्षभित्र सम्पूर्ण जनताको पहुँचमा विद्युत् पुर्याउने लक्ष्यअनुसार प्राधिकरण लागिपरेको छ । विद्युत् प्राधिकरणको हिजोको र अहिलेको अवस्था सबैले हेरिरहेको छौैं । यति गर्दागर्दै पनि केही जिम्मेवार व्यक्तिहरुले हिजोकै लोडसेडिङको अवस्था जगाउने गरी विभिन्न अभिव्यक्ति दिन थालेको पाइयो । प्राधिकरणले लोडसेडिङ अन्त्य गर्नुमा तपाइँ पत्रकार, सम्पूर्ण जनता र सरकारको ठूलो भूमिका छ । प्राधिकरणले हिजोको अवस्थाबाट अहिलेसम्म महत्त्वपूर्ण दुइटा काम गर्यो ।

हिजो १२ घण्टाको लोडसेडिङमा पिल्सिएका जनतालाई उज्यालो नेपाल दियौं । त्यस्तै दोस्रो, घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्यायौं । हिजो चरम लोडसेडिङ र घाटाको अवस्थामा रमाइरहने मान्छेहरु आज विद्युत् प्राधिकरण नाफा गएको सुन्दा दुख मान्न सक्लान् । जो मान्छे लोडसेडिङ सिर्जना गर्न सल्बलाइरहेका छन् तिनीहरु नै योजनाबद्ध रुपमा मविरुद्ध गलत अभिव्यक्ति दिँदै आएका छन् ।

विद्युत् प्राधिकरणको व्यवस्थापनलाई र सम्पूर्ण टिमलाई कसरी कमजोर बनाउने भनेर मिडियाको प्रयोगदेखि लिएर विभिन्न हर्कत गर्दै आएको त्यही टिम हो जसले देशमा लोडसेडिङ रहँदा र विद्युत् प्राधिकरण ९ अर्ब रुपैयाँ घाटामा छँदा पनि चासो लिएको थिएन । यहाँ जिम्मेवार कर्मचारीलाई पनि प्राधिकरण नाफामा गयो भन्ने विश्वास थिएन । लोडसेडिङ कसरी अन्त्य हुन्छ भन्ने थाहा थिएन र पत्याउँदैन थिए । सरकारले अनुदान दिएर प्राधिकरण नाफामा गयो भनेर अझै पनि अनर्गल प्रचार भइरहेको छ ।

महालेखा र प्राधिकरणकै ३ ओटा चार्टर्ड एकाउन्टेन्ट संस्थाले पनि हेरेका छन् होला । विद्युत् प्राधिकरण नाफामा छ भनेर एउटा प्राधिकरणको पाँचौ तहको कर्मचारीले भन्ने कि चार्टर्ड एकाउन्टेन्टले भन्ने ? यो विषय गम्भीर छ । प्राधिकरणभित्र र यहाँ रहेका कर्मचारी संयन्त्रलाई कमजोर बनाएर हिजोकै खेल सुरु गर्न उद्दत भएको देखिन्छ । यो गम्भीर विषय हुनाले पनि प्राधिकरणले जानकारी दिने आवश्यकता देख्यो ।

ट्रेड युनियनको चुनावको कुरा उठ्यो । २/२ वर्षमा चुनाव हुनुपर्छ । ट्रेड युनियनको चुनाव प्राधिकरण व्यवस्थापनले गर्छ । विभिन्न बहानामा अनर्गल प्रचार गर्दै ट्रेड युनियनको चुनाव नगराउने र व्यवस्थापनलाई कमजोर पार्दै हिँड्ने यहाँ कसैको अधिकार छैन् ।

प्राधिकरणलाई हिजो जसरी क्राइसिसमा राखेका थिए त्यो राख्न नपाउदाँ आज केही व्यक्ति छट्पटिएर विभिन्न गलत प्रचार गरिँदै छ । यो गम्भीर आपत्तिको विषय हो । प्राधिकरणका कर्मचारी बिहान ७ बजेदेखि राति ९÷१० बजेसम्म खटिरहेका छन् । स्वयम् हामी पनि लागिरहेका छौं । त्यसका अतिरिक्त प्राधिकरणका विभिन्न महत्त्वपूर्ण निर्णय गर्न मिटिङ तथा बैठक बस्नुपरेको छ । तर, बैठकमा यति भत्ता बुझ्यो भनेर भन्दै प्रचार गरिएको छ । यो त हाम्रो इलेक्ट्रिक अडिटले विवरण राखेको छ । अडिटले हेरेको छ । प्राधिकरणमा सबै कुरा पारदर्शी छ । त्यसैले प्राधिकरणको नेतृत्वले अकुत कमायो भन्ने जस्ता प्रचार केही मिडियामा पनि आए । यो विषयमा प्राधिकरणले छानबीन गर्छ । तर, व्यक्तिगत आक्षेप लगाउने हिसाबले आएको छ त्यो निकै दुखद छ । निन्दनीय छ ।

विद्युत् प्राधिकरणभित्र पनि त्यस्ता अनर्गल प्रचार गर्ने व्यक्ति को को छन् भन्ने छानबिन अध्ययन गर्नेछौं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकले ६० लाख भत्ता बुझ्यो भन्ने गलत प्रचार गरियो । ६० लाख रुपैयाँ भत्ता भनेको कति ओटा मिटिङ राख्यो ? अनि १३/१३ दिनमा मिटिङ राखेर भत्ता बुझ्यो भन्ने विषय पनि आए । सम्भव छ यो कुरा ? विद्युत् प्राधिकरणको एमडी सरकारसँग कार्यसम्पादन करार गरेर आएको व्यक्ति हो । प्राधिकरणमा यति प्रगति गर्यो भने यति इन्सेन्टिभ दिने भन्ने उल्लेख हुन्छ । त्यसकै आधारमा वार्षिक रुपमा एमडीको कार्यमूल्याङ्कन गरिन्छ । मन्त्रालयको समितिले बनाएर प्रगति मूल्याङ्कन गर्छ र त्यसकै आधारमा ८० प्रतिशत प्रगति हासिल गरेमा मासिक २ लाखका दरले वार्षिक २४ लाख रुपैयाँ इन्सेटिभ दिएको हो ।

पछिल्लो दुई वर्षमा २५ प्रतिशतको विद्युत् चुहावट १५ प्रतिशतमा झार्न प्राधिकरण सफल भयो । त्यसका आधारमा दुई वर्षको २४ लाख इन्सेन्टिभलाई ६० लाख रुपैयाँ मिटिङ भत्ता भनेर प्रचार गर्न पाइँदैन ।

मैले कति भत्ता बुझेको छु भनेर हेरें । मैले मिटिङ भत्ता भनेर जम्मा ६ लाख रुपैयाँ लिएको रहेछु । त्यसलाई ६० लाख भनेर गलत प्रचार गरियो । अब मेरो इन्सेटिभलाई पनि भत्ता नै बनाइदिनु भयो । अब मेरो तलब सुविधालाई पनि भत्ता नै बनाएर प्रचार गर्न थाल्नु हुने त होइन भन्ने डर पो छ । मिटिङ नै नराखी भत्ता यहाँ कसैले पनि खाएको छैन । बोर्ड मिटिङमा हस्ताक्षर गर्ने अधिकार नभएको व्यक्तिले मिडियामा गएर विभिन्न गलत प्रचार गरेको पाइएको छ ।

विगतका एमडी र कर्मचारी कसरी परिचालित छन् भन्ने हामीलाई पनि थाहा छ । तिनले नै आज विभिन्न मिडियामा बोल्दै हिँड्ने र विभिन्न भ्रम फैलाइरहेका छन् ।

मैले फागुन १८ गते ट्रेड युनियनको आधिकारिक चुनाव गरौं भन्दा कसैले मान्नुभएन । उहाँहरुले चुनाव सार्नुभयो । फागुन १८ गतेको आधिकारिकलाई म अब आधिकारिक मान्दिनँ । अब चुनावमा जो आउँछ उही आधिकारिक । र, प्राधिकरणको पाँचौ तहको मान्छो साँढे जस्तो जथाभावी बोल्दै हिँड्न पाउँदैन । मैले स्पष्टीकरण पनि सोधिसक्या छु । यो अराजकताको पराकाष्ठा हो । विद्युत् प्राधिकरण किन घाटामा गयो भन्ने कुरा त्यस्तै अराजक मान्छेका पछाडि सयौं झुन्ड थिए । जुन, त्यतिबेलाको एमडीले केही गर्न सक्दैनथ्यो ।

ज–जसलाई कारबाही गरिन्छ, यी सबै ठूला भन्नेहरुका नजिकका हुन् । अनि प्राधिकरण कसरी अघि जान्छ ? घाटामा रहेको प्राधिकरणमा नाफामा गयो राम्रो गरिरहेको छ भन्ने अहिलेका मान्छेलाई किन पच्दैन ? पब्लिकले बाहिरबाट प्राधिकरणलाई राम्रो भनिराछन् तर, प्राधिकरणका आधिकारिक भन्ने मान्छेहरु प्राधिकरणभित्र लुट छ, प्राधिकरण खत्तम छ, प्राधिकरण ध्वस्त भयो भन्दै हिँड्ने ? हिजो ध्वस्त त बनाइसक्या थिए । अहिले ध्वस्त बनाउन नपाएपछि खत्तम भयो भन्दै हिँड्ने ? त्यतिबेला प्राधिकरण त समाप्त भइसक्या थियो त । अनि अहिले आएर प्राधिकरणका कर्मचारीले गलत ब्रिफिङ गर्दै हिँड्ने ? र प्राधिकरणमा कुनै पनि त्यस्ता गलत हर्कत र प्रचारले कमजोर हुँदैन ।

अहिले हिजोको जस्तो कमजोर एमडी म होइन । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकले ‘चेन अफ कमान्ड’ मेन्टेन गर्छ । र यहाँ भित्र रहेको विकृतिलाई समाप्त गरेरै छोड्छ । त्यसका लागि कोही बाधक बन्छ भने त्यो ठाउँबाट हटाइन्छ ।

मिडियामा आएको भन्दा धेरै आन्तरिक इन्फर्मेसन मैले लिएको छु । को को यहाँ छन् । को को लागिरहेका छन् भन्ने जानकारी लिइरहेको छु । हाम्रो व्यवस्थापन टिमलाई विभिन्न प्रचारबाजी गराउने र हिजोका त्यस्ता लोडसेडिङ गराउने दलालको अब केही चल्नेवाला छैन । तपाइँले पनि ती दलाललाई चिन्नुहुन्छ । हिजो के भइरहेको थियो र कसरी विद्युत् प्राधिकरण चलिरहेको थियो । अहिले उद्योगबाट यति खायो उति खायो भन्दै गलत प्रचार गर्ने तिनै दलालले हिजो के गरिरहेका थिए भन्ने मलाई पनि थाहा छ ।

म विद्युत् प्राधिकरणमा रहेसम्म कुनै पनि तलमाथि हुन दिने छैन । निरन्तर खटेर काम गरिरहेका छौं । ट्रान्सपरेन्सी काम गरिरहेका छौं । यस्मा कुनै चिजमा दादागिरी चल्दैन । दादागिरी गर्यो भने त्यसको कारबाहीको भागीदार जो पनि हुन्छ ।

अहिले बाहिर डेडिकेटेड फिडरको विषय पनि उठेको छ । विद्युत् प्राधिकरणका माथिल्ला व्यवस्थापनका कर्मचारीले यति अर्ब खायो भनेर कुप्रचार गरिरहेका छन् । त्यो कसले खायो भन्ने हामीलाई थाहा छ । उद्योगलाई कसरी विद्युत् बाँड्या थियो भन्ने हामीलाई जानकारी छ । तर, अहिले आएर विद्युत् प्राधिकरणका कर्मचारीले १० अर्ब खायो भन्ने जस्ता गलत प्रचार गरिएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । जुन कुरा भएकै छैन । जुन मिटिङमा त्यो मान्छे नै छैन, त्यसले नै गलत प्रचार गर्दै हिँड्ने ? त्यस विषयमा प्राधिकरणमा छलफल भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण डेडिकेटेड फिडर लाइनबाट विद्युत् आपूर्ति गरिरहेका ग्राहकको महसुल कार्यान्वयन गर्ने कुरामा प्रस्ट छ ।

डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट विद्युत् लिइरहेका औद्योगिक तथा गैर औद्योगिक ग्राहकहरुको सङ्ख्या २०७५ असार मसान्तसम्म २५८ ओटा छन् । डेडिकेटेड भनेर चिनिएका २२० र ट्रङ्क लाइन भनेर चिनिएका ६७ ग्राहक छन् । डेडिकेडेट लाइनमा भएको नीतिगत व्यवस्था छ । म प्राधिकरणमा एमडी भएर आएपछि एक जनाले पनि डेडिकेटेड लाइन लिएको छैन । डेडिकेटेड लाइन हटाउनुप¥यो भनेर दिनहुँ सयौंको निवेदन आइरहेको छ । डेडिकेटेड लाइन हटाउनका लागि लोडसेडिङ फ्री नभइसकेको अवस्था, टेरिफ कमिसन नभएको र रेगुलेटिभ कमिसन पनि नआइरहेको अवस्थामा हामीहरुलाई पनि निर्णय गर्न अल्ली ढिलो भयो । त्यसबेला के के नीतिगत निर्णय भएको रहेछ बोर्डमा भन्ने कुरा मैले यहाँ प्रस्तुत गर्न चाहन्छु ।

सञ्चालक समितिको २०७२ असार १२ गतेको ७१० औं बैठकबाट डेडिकेटेड फिडरबाट विद्युत् लिने ग्राहकबाट लिनुपर्ने प्रिमियम शुल्कसहित नयाँ महसुल दर स्वीकृत भएको छ । प्राधिकरणबाट २०७२ श्रावणको विद्युत् खपत (२०७२ भाद्रको मिटर मिटिङ्ग) देखि लागू गर्ने गरी आन्तरिक पत्राचार भएको । उक्त महसुल दर विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ गतेको १०३ औं र २०७२ माघ १० गतेको १०४ औं बैठकबाट प्राधिकरणबाट निर्णय भएकै मितिदेखि लागू हुने गरी स्वीकृत भएको ।

आयोगको निर्णयबमोजिम प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल सङ्कलन विनियामवली २०७३ स्वीकृत लिई लागू गरेको । विनियावलीमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकका लागि २०७३ भाद्र महिनाको रिडिङदेखि लागू हुने गरी प्रिमियम शुल्कसहितको विशेष महसुल दरको व्यवस्था गरिएको हो ।

विनियमावलीको विनियम (५)को उप विनियम (२)मा प्राधिकरणका डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट विद्युत् सेवा लिने औैद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका ग्राहकले विद्युत् शक्ति खपत गरेबापत अनुसूची १ कमा उल्लेख भएबमोजिमको मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणबाट यही व्यवस्थाअनुसार, ट्रङ्क लाइनबाट आपूर्ति लिइरहेका ग्राहकलाई महसुल तिर्न पत्राचार गरेका हौं ।

विनियमावलीको विनियम (५)को उपविनियम (५)मा ३३ केभी ट्रङ्क लाइन तथा ११ केभी रिंग मेन फिडरबाट नयाँ ग्राहकलाई विद्युत् आपूर्ति गरिने छैन । अर्को व्यवस्था नभएसम्मका लागि हाल ट्रङ्क लाइन आपूर्ति लिइरहेका कुनै ग्राहकले उक्त लाइनबाट २० घण्टा वा सोभन्दा बढी समय डेडिकेटेड फिडरसरह विद्युत् आपूर्ति लिन चाहेमा डेडिकेटेड फिडरसरहको महसुल तिरी लिन सक्नेछन् । यस्तो सेवा लिन स्वीकृतिका लागि निवेदन पर्न आएमा डेडिकेटेड लाइनसरह प्राधिकरण सञ्चालक समितिबाट स्वीकृति लिनु पर्ने छ भन्ने व्यवस्था रहेको विदितै छ ।

साथै सोही विनियममा ‘यदि कुनै ग्राहकले स्वीकृति नलिई प्राधिकरणले निर्धारण गरेको लोडसेडिङ समय कट्टा गरी विद्युत् प्रवाह हुने समयभन्दा बढी अवधि विद्युत् सुविधा आपूर्ति लिएमा विद्युतको अनधिकृत उपयोग भएको मानी विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ को दफा ९ अनुसार लाइन कट्टा गरी दफा ११ बमोजिम बिल रकम र सो बराबरको क्षतिपूर्ति रकमसमेत तिर्नुपर्ने छ । यस्तो अवस्थामा विद्युतको बिल रकम र क्षतिपूर्ति रकम गणना गर्दा डेडिकेटेड फिडर लाइनको सरह विद्युत् महसुल लगाइने छ । यसरी कायम भएको विद्युत् महसुल तथा क्षतिपूर्ति रकम नतिरेसम्म विद्युत् लाइन जोडिने छैन’ भन्ने प्रतिबन्धात्मक व्यवस्था छ । तर, औद्योगिक ग्राहकले लोडसेडिङको तालिकाभित्र बसेको, स्वीकृति पनि नलिएको लगायतका कारण देखाउँदै यस्तो व्यवस्था लागू नगर्न अनुरोध गर्दै आएको छ ।

२० घण्टा वा सोभन्दा बढी सञ्चालक समितिले स्वीकृत गर्नुपर्ने नियम छ । हामी लोडसेङिमै छौं । २० घण्टा विद्युत् लिएका पनि छैनौं भन्ने उद्योगीको गुनासो र अहिलेको समस्या पनि यही हो । यो स्वाभाविक पनि छ ।

डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट क्रमशः २३१ र ६७ गरी २९८ ग्राहकले विद्युत् आपूर्ति लिइरहेका छन् । त्यसमध्ये १८४ ग्राहकलाई प्रिमियसहितको विद्युत् महसुल दर लागू गरिएको छ । डेडिकेटेड एवम् ट्रङ्क लाइनबाट विद्यु्त् सेवा प्रयोग गरिरहेका सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ सुविधा लिएका ग्राहकको सङ्ख्या ५० छ । बाँकीको हकमा बिलिङ भइरहेको छ । प्रिमियमसहितको महसुल बिलिङ भएका ग्राहकलाई पुनरावेदनका लागि उच्च र सर्वोच्च अदालत गएका छन् । उनीहरुको मुद्दा अदालतमा विचाराधीन छ । केही औद्योगिक तथा व्यापारिक ग्राहकले प्रिमियम शुल्क नलगाउन प्राधिकरणमा लिखित तथा मौखिक गुनासो दर्ता गरेका छन् ।

डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गका सबै ग्राहकले विद्युत् महसुल निर्धारण आयोगले स्वीकृत गरेको प्रिमियमसहितको महसुल दर विद्युत् महसुल सङ्कलन विनियामवली २०७३ मा उल्लेख भएबमोजिम प्राधिकरणबाट बिलिङ हुँदा ग्राहकले विनियमावलीको व्यवस्थाअनुसार महसुल र्तिन नपर्ने भनी दाबी गरेका छन् । यस सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भइरहेको छ । अब उप्रान्त लोडसेडिङ अन्त्य भएकाले डेडिकेटेड एवम् ट्रङ्क लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गका ग्राहकका लागि नयाँ उपयुक्त महसुल तय गरी सम्बन्धित निकायको स्वीकृतिमा लागू गरिने छ ।

डेडिकेटेड भनेर अस्पताललाई २० रुपैयाँ र उद्योगलाई १५÷१६ रुपैयाँ लगाइरहनु आवश्यक छ कि छैन भन्ने विषयमा हामीले छलफल गरेका छौं । हो, स्वाभाविक हिसाबले अहिले लोडसेडिङ अन्त्य भएको छ । लगानी सम्मेलन भएको छ । यसक्षेत्रमा लगानी आउनुपर्छ भनेका छौं । यो अवस्थामा हामीले डेडिकेटेड लाइनको यति चाहिन्छ भन्दै बस्यौं भने लगानीको वातावरण नबन्न सक्छ । यस विषयमा उद्योगी साथीहरुले पनि भन्नुभएको छ । र, हामीलाई पनि महसुस भएको छ । अबको यो समस्या हामीले हटाउनुपर्छ भनेर छलफल गरिरहेका छौं । यसबारेमा हामी चाँडै नै टुङ्गोमा पुग्छौं । बोर्डमा एउटा छलफल भइरहेको छ, त्यसको आधारमा अघि बढ्छौं । अहिले नै म यो निर्णय गर्छु भन्न सक्दिनँ । हामी पोजेटिभ हिसाबले अघि बढेका छौं ।

अहिले हामीले विद्युत् खपत गर्दिनुस् भन्ने स्थिति आएको छ । अब हामी विद्युत् खपत कसरी बढाउने भन्ने सोच्नुपर्ने अवस्था आएको छ । चार्जिङ स्टेसनको कुरा उठिरहेको छ । कुन बेला कसरी विद्युत् खपत गराउने र कति प्रिमियममा विद्युत् दिने भन्ने टुङ्गो लाग्न बाँकी नै छ ।

अब हामी उत्पादन भएको विद्युत् डिमान्ड बढाउनु पर्छ । बर्खामा हामीसँग विद्युत् बचत हुन्छ । त्यसैले अहिलेको अवस्थालाई मध्यनजर गर्दै हामी पोलिसी बनाउँदै छौं । अहिलेको अवस्था चेन्ज गर्ने पक्षमा हामी छौं । त्यसकारण यस विषयमा कुनै सत्यता छैन । कुनै ठोस निर्णय भएको छैन । डेडिकेटेड विषयमा मिनाहा गर्ने भन्ने कुरै छैन । त्यसकारण, यस्ता कुतर्क र कुप्रचार गरेर प्राधिकरणको नेतृत्व क्षमता असफल बनाउने खेल हो । यसमा हामी सचेत छौं ।