हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै क्यानडा जाने ६ बङ्गालीलाई स्वदेश फर्काइँदै

क्यानडा लैजाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याइएका ६ जना बङ्गलादेशी नागरिकलाई एक बङ्गाली र एक नेपाली मिलेर ३६ सय अमेरिकी डलर लिएर फरार भएका थिए ।

काठमाडौं । हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा जाने भन्दै ठगिएका ६ बङ्गलादेशी नागरिकलाई प्रहरीले मङ्गलबार स्वदेश फर्काउँदै छ ।

क्यानडा लैजाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याइएका ६ जना बङ्गलादेशी नागरिकलाई एक बङ्गाली र एक नेपाली मिलेर ३६ सय अमेरिकी डलर लिएर फरार भएका थिए ।

नेपाली बाटो हुँदै क्यानडा लैजाने भन्दै सिद्दिकी इस्माइल नाम गरेका एक बङ्गालीले गत फागुन २४ गते उनीहरुलाई नेपाल ल्याएका थिए । प्रहरीका अनुसार बङ्गलादेशबाट नेपाल ल्याएर सिद्दिकीले एक नेपालीलाई जिम्मा लगाएका थिए । नेपाल पुगेका ६ बङ्गालीलाई ती नेपालीले काठमाडौंको नयाँबसपार्कमा रहेको होटल पिस डिभाइनमा राखेका थिए ।

त्यसपछि उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आबुधाबी ट्रान्जिट हुँदै क्यानडाको टोरेन्टोसम्मको अप्रिल ३ तारिकको टिकट दिएर ती नेपालीले ३६ सय अमेरिकी डलर लिएर फरार भएका थिए । गत मार्च ८ तारिकमा नेपाल आएका उनीहरुलाई सोही गेष्टहाउसमै राखिएको थियो । नेपाल पुगेपछि सिद्दिकीले ६ जनालाई नै नेपालीको जिम्मा लगएको र त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

त्यसपछि ती नेपालीले ४ तारिकमा पोखरा विमानस्थलबाट इतिहादको विमानमार्फत आबुधाबी हुँदै क्यानडासम्मको टिकट दिएर फरार भएका थिए ।क्यानडा जाने भन्दै ठिक्क परेर ६ जना बङ्गाली होटल छाड्ने तरखरमा थिए । त्यही बीचमा होटलवालाले सोधीखोजी गर्यो । पोखरा हुँदै क्यानडा जाने भनेपछि होटेल मालिकसमेत झस्किए ।

त्यसपछि उनीहरुलाई पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल नै छैन भन्ने जानकारी भयो । बिचल्लीमा परेका ६ बङ्गालीलाई प्रहरीले उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरी मङ्गलबार फिर्ता पठाउन लागेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

बंगालीलाई बिचल्ली पार्ने नेपाली र बङ्गालीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।